राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने जनाएको छ । बैंकको सूचनाअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी गरिने छ । बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले साउन ३ देखि २०८२ साउन ३ गतेसम्मका लागि उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ ।

सहकारी छानबिन समितिको निर्णय : राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो । छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको वचत अपचलन र ठगी तथा वचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । उनले सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न, तथ्य प्राप्त गर्न, समस्याको प्रवृत्ति विश्लेषण गरी समाधान गर्ने गरी कोशिस जारी रहेको बताए । सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा भएको बताए । सहकारी क्षेत्रको विकास प्रवद्र्धन र विस्तारसँग राजनीतिक क्षेत्र पनि अभिन्न रुपले जोडिएको भन्दै प्रतिनिधि सभाले अधिकार दिएको चार बुदे कार्यदेशमा केन्द्रित भएर सहकारी क्षेत्रका समस्या समाधानको निम्ति राजनीतिक दलहरुसँग सुझाव माग गरिने जानकारी दिए । संगठित रुपमा सहकारी क्षेत्रको विकास प्रवद्र्धन र व्यवस्थापनमा राजनीतिक दलहरु जिम्मेवार रहेको बताए । राजनीतिक दलका विभिन्न व्यक्तिहरु संग्लन रहेको भन्दै  सुद्धिकरण र समस्या समाधानको लागि राजनीति क्षेत्र जवाफदेही ढङ्गले छानविन अभियानमा साथ दिन आवश्यक रहेको जानकारी दिए । ‘राष्ट्रिय सहकारी महासंघ, वचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवं कर्मचारीहरूसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफल भयो, शुद्धिकरणका निम्ति पनि र समस्या समाधानको लागि राजनीति क्षेत्र जवाफदेही ढङ्गले छानविन अभियानमा साथै रहनुपर्छ भन्ने बुझाईका साथ पत्रचार गर्ने निर्णय गरेका छौं’, उनले भने । सहकारी छानबिन समिति छलफलमा सहकारी क्षेत्रका जानकारहरुले सहकारी क्षेत्रमा अहिले देखापरेको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्वपूर्ण सुझावहरु दिएका छन् ।

भरतपुर महानगरले गरिदियो ७ सय ७६ छोरीको बीमा

चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने ७ सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो । बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम ५० हजार बाल उमंग बीमाका लागि प्रदान गर्ने छ । उनले भनिन्, ‘१५ वर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।’ १५ वर्षपछि ती बालिकाले १ लाख पाउने उनले बताइन् । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी २५ लाख ७७ हजार ८ सय ६२ रुपैयाँ बीमा कम्पनीलाई बुझाएको छ । महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताइन् । आफू पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उनले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।’