बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो । राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेटले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए । साथै, उनले अस्तालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ । उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ । इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने कम्पनीको भनाइ छ ।