नेरुडे मिर्मिरे लघुवित्तले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको २५ प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँको २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा ३४ करोड ९४ लाख ४१ हजार रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ । हकप्रद सेयर निष्कासन भने नियामक निकायको स्वीकृतिपछि मात्र हुने लघुवित्तले जनाएको छ । हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउनुका साथै संस्थापक समूहतर्फ रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।

सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २६६० बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोपन फर्माको १७ करोड, युनाइटेड मोदीको ११ करोड ८२ लाख, सप्तकोशी डेभलपमेन्टको ११ करोड ४ लाख र साहस ऊर्जाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । भुजुङ हाइड्रोको सेयर मूल्य १४.६९ प्रतिशतले बढेको छ ।    

४.५ प्रतिशत लाभांश पारित गर्न युनाइटेड अजोडले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औं वार्षिक साधारण सभा आगामी असार ३१ गते डाकेको छ । कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको अम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले ५२ लाख १० हजार रुपैयाँ नगद गरी कुल ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको जारी पुँजी वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम सभाले कम्पनीको प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्नेछ ।  यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष  २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि वर्तमान लेखापरीक्षक जेबि राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्नेछ ।  साधारण सभा तथा लाभांश प्रयोजनार्थ असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।