काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको २५ प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो ।
लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँको २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा ३४ करोड ९४ लाख ४१ हजार रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ । हकप्रद सेयर निष्कासन भने नियामक निकायको स्वीकृतिपछि मात्र हुने लघुवित्तले जनाएको छ ।
हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउनुका साथै संस्थापक समूहतर्फ रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।