एसबिआई बैंकको भन्सार कार्यालयस्थित एक्सटेन्सन काउन्टर र महेन्द्रनगर शाखा स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।
नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनको माध्यमबाट सेयर जारी गर्न लागेको छ । सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
आरएसडिसी लघुवित्तको नाफा ३६.४७ प्रतिशत बढ्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था पहिलो बनेको छ । चौंथो त्रैमासमा लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशत बढेर १४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । १२ महिनाको अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेर १ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत घटेर २६ करोड ३ लाख रुपैयाँ छ । लघुवित्तको सञ्चालन नाफा ३५.१२ प्रतिशत बढेर २० करोड ९४ लाख रुपैयाँ गरेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८.६ प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ र जगेडा कोष १५.४७ प्रतिशत बढेर २ करोड ३२ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ बढेर १५.५३ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ छ । लघुवित्तको खराब कर्जा १.४० प्रतिशत रहेकोमा बढेर ३.३१ प्रतिशत पुगेको छ ।