यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना अपार्टमेन्ट निर्माण
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्युत आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना बनायो । यो आयोजना पहिलो आयोजना स्थल भन्दा ५ किलोमिटरमाथी छ । यस आयोजनाले २०७६ साल कार्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो । यी ३ वटा जलविद्युत आयोजनामध्ये ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ । यस आयोजनाबाट कम्पनीले वार्षिक २३ करोड आम्दानी गर्छ । ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाले पनि वार्षिक २३ करोड नै आम्दानी गर्छ । ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक १ अर्ब ३५ करोड आम्दानी गर्छ । यसरी कम्पनीले जलविद्युत आयोजनाबाट वार्षिक १ अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने देखिन्छ । यसरी सुदूरपश्चिमबाट सुरु भएको अपि पावरको यात्रा अहिले पूर्वसम्म नै पुगिसकेको छ । विद्युत आयोजनाहरु विकास गर्ने भनेर २०६० असार ५ गते स्थापना भएको अपि पावर प्रा।लि। कम्पनीमा ब्यापक जनसहभागिता गराउने उदेश्यले २०७० साउन ६ गतेदेखि पब्लिक कम्पनीको रुपमा परिणत गरि कार्य गरिरहेको छ । यस कम्पनीमा हाल डेढ लाख शेयरधनीहरु रहेका छन्। सुरुमा कम्पनीमा १०० कित्ता शेयर हुने शेयरधनीको शेयर अहिले बढेर ४०० कित्ता पुगेको छ । कम्पनीले मुनाफालाई बोनस शेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने नीति लिएको छ । र मुनाफा भएको रकमले अन्य नयाँ आयोजना निर्माण गर्ने गरेको छ । साथै समय समयमा आवश्यकता अनुसार हकप्रद मार्फत पनि रकम जुटाउदै आएको छ । यसै नीतिको कारण ८.५ मेगावाटको जलविद्युत आयोजना बनाएर उदाएको यस कम्पनी कम्पनी हालको अवस्थामा ६२।५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने कम्पनी भएको छ । १०० करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको चुक्ता पुँजी अहिले करिब ६०० करोड भईसकेको छ । कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत उत्पादन गरि देशको कुल उर्जा उत्पादनमा ठूलो योगदान पुर्याईरहेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् । यी आयोजनाबाट कम्पनीले क्रमशस् ४ करोड ५० लाख, १ करोड १५ लाख र १ करोड १५ लाख रुपैयाँ वार्षिक आम्दानी गर्छ । यसरी सोलार आयोजना र जलविद्युत आयोजना गरि कम्पनीको कुल वार्षिक आम्दानी १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ हुन आउँछ । सुदूरपश्चिमको दार्चुलादेखि सुदुरपुर्वको ताप्लेजुङसम्म नै आयोजना निर्माण गरि कम्पनीले देशभर नै आफ्नो शशक्त उपस्थिति देखाएको छ । जलविद्युत आयोजना ३० वर्षपछि सरकारीकरण हुने भएकोले कम्पनीले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कम्पनीको आम्दानी नगुमोस् भनेर केही वर्षको अन्तरलमा नयाँ नयाँ आयोजना निर्माण गरिरहेको छ । साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषि उत्पादन, हाउजिङ निर्माण लगायतला क्षेत्रमा लगानी गरिरहेको छ । एउटा ‘अम्ब्रेला अर्गनाइजेसन’को रुपमा रहेको अपि पावरले जलविद्युत र सोलार बाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरि लगानीलाई विविधिकरण गरिरहेको छ । अब कम्पनीले नवीनतम् हाइड्रोजन उर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधिकरणको लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टसमेत निर्माणको तयारी गरिरहेको छ । ७ कम्पनीमा शेयर लगानी यी बाहेक अपि पावर कम्पनीले विभिन्न ७ वटा अन्य कम्पनीमा शेयर लगानी गरेको छ । कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गरेको छ । इङ्गवा हाइड्रोको कुल चुक्ता पुँजी ६० करोड रहेकोमा अपि पावरको १५ करोड लगानी रहेको छ । आईपीओ निष्काशन गरि शेयरबजारमा समेत सुचिकृत भईसकेको यस कम्पनीले ९।७ मेगावाटको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० चैत्र देखि व्यापारिक उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०८१र८२ देखि यस आयोजनाले अपि पावरलाई लाभांश दिन सक्ने आंकलन कम्पनीको छ । त्यस्तै अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको शेयर लगानी गरेको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८१ फागुनमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ निष्काशनपश्चात यस कम्पनीमा अपि पावरको स्वामित्व ४५ प्रतिशत रहनेछ । अपि पावरले ७ करोड ५ लाख रुपैयाँ शेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रुपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यसले अपि पावरलाई वार्षिक १० प्रतिशत लाभांश दिने अनुमान छ । यस कम्पनीले जलविद्युत आयोजनाहरुको लागि आवश्यक हाईड्रो मेकानिकल उपकरणहरु निर्माण गर्दछ । जलविद्युत आयोजनाहरु समयमा निमार्ण सम्पन्न गर्न चाहिने फलामका सामानहरु (पेनस्टक पाईप, गेट, बाईफर्केशन, ट्रान्सर्याक, बेलमाउथ आदि) यस कम्पनीले उत्पादन गरिरहेको छ । अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा २ अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । हाल आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गर्ने चरणमा पुगेको छ। विद्युत खरिद सम्झौतापछि २०८१ को अन्त्यसम्ममा आयोजना निर्माणको चरणमा जाने छ । नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ २०७५ साल चैत्र ११ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड दर्ता भएको छ । यस कम्पनीमा पनि अपि पावरले १० लाख रुपैयाँ लगानी गरेको छ । यस कम्पनीले विद्युत ब्यापारको अनुमति पाएपछि अपिले आफ्नो लगानी बढाएर १ करोड पुर्याउने तयारी छ । यस कम्पनीले अपि पावरलाई वार्षिक ५ देखि १० प्रतिशत लाभांश दिने अनुमान छ । अपि पावरको भगिनी संस्थाको रुपमा मकालु डेभलपर्स लिमिटेड र लटीनाथ कन्स्ट्रक्सन रहेको छ । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिल तर्फको सामग्री उत्पादन गर्छ । मशिनरी बाहेक हाइड्रो निर्माणको लागि चाहिने मेकानिकल र सिभिल तर्फको सामान अपि पावर आफै उत्पादन गर्छ । आफैँले उत्पादन गर्दा जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने र खर्च पनि घटाउन सहयोग पुगेको कार्यकारी सञ्चालक न्यौपाने बताउँछन् । अबको लगानी पानी र अपार्टमेन्टमा शेयरधनीलाई बढी प्रतिफल दिन र लगानी विविधिकरण गर्नको लागि कम्पनीले पानी उत्पादन गर्ने र अपार्टमेन्ट निर्माण गर्ने तयारी पनि थालेको छ । अपि पावरले १ अर्ब ३५ करोड लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने तयारी गरेको छ । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ बाट पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । सो पानी सुदूरपश्चिमा नै खपत हुनेछ । हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरि दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीको तयारी छ । यो कम्पनीको संस्थागत सामाजिक कार्यको रुपमा पनि रहने र कम्पनीको ब्राण्ड बनाउन पनि सहज हुने कम्पनीको विश्वास छ । यस अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १२० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाई छ । निर्माण सम्पन्न पश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ । नियमित लाभांश हरेक वर्ष जसो लाभांश वितरण गर्नेमा कम्पनीमा अपि पावर पनि पर्दछ । कम्पनीले आर्थिक २०७२/७३ देखि नियमित रुपमा लाभांश वितरण गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत बोनस शेयर, २०७५/७६ मा ५ प्रतिशत बोनस शेयर तथा २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले अपर चमेलिया निर्माणको लागि विभिन्न ४ चरणमा हकप्रद पनि निष्काशन गरेको छ । कम्पनीको लाभांश र हकप्रद वितरणको विवरण भावी कार्यक्रम पानी उत्पादन र अपार्टमेन्टमा लगानी बाहेक कम्पनीले भावी दिनमा बिजुलीको ब्यापार गर्ने गरि योजना बनाइ रहेको छ । कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय रुपमा गरि दुईवटै तरिकाबाट विद्युत व्यापार गर्नको लागि सरकारसँग लबिङ गरिरहेको छ । कम्पनीले सुदूरपश्चिममा बनाएको चमेलियाको आयोजनास्थलबाट ४० किलोमिटर भारततर्फ लागेपछि भारतीय ग्रिड भेटिन्छ । साथै पुर्वमा पनि ५० किलोमिटर दुरीमा नै भारतीय ग्रिड रहेको र त्यहाँसम्म पुग्ने प्रसारण लाइन आफैले निर्माण गरेर भारतमा विद्युत व्यापारको ढोका खुल्नेमा कम्पनी आशावादी देखिएको छ । साथै कम्पनीले स्वदेशी तथा विदेशी कम्पनीसँगको साझेदारीमा १०० मेगावाट भन्दा ठुला आयोजना बनाउने लक्ष्य लिएको छ । साथै, नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि अपि पावरले सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने कम्पनीको तयारी छ । टेण्डर पाएको ६ महिनाभित्र निर्माण सुरु गर्न सकिने भएकोले ३० मेगावाटको सोलार आयोजना पनि २०८१ भित्र नै सुरु गर्ने कम्पनीको योजना छ । नियामक निकायको अनुमति पाएमा ग्रिन बोन्ड निष्काशन गरेर लगानी जुटाउने योजनामा कम्पनी छ ।
नेपाल लाइफले ग्लोबल कलेजमा सवा अर्ब लगानी गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरे । नेपाल लाइफले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए । कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउँदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको कुरा बताए । कम्पनीका सीईओ पराजुलीले जीवन बिमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा बताए । प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । यस सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्यातिप्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । साथै उनले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने कुरा बताए ।
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने
काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने भएको छ । देशकै अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सम्झौतामा हस्ताक्षर गरेको हो । एनआईबीएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटलको एकाइ हो । लगानीसम्बन्धि यस सम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको बताइको छ । एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको प्रेस विज्ञप्तिमा भनिएको छ । ‘डेलिस’ ब्रान्डको ग्रीक दहीले नवीनताको पहिचान दिएको छ भने ‘पञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको दाबी कम्पनीकाो छ । एनआईबीएल इक्विटी पार्टनर्सको यस लगानीले नेपाली बजारमा डेलिस ब्रान्डको स्थानलाई झनै मजबुत बनाउने भएको दाबी गरिएको छ । लगानी सम्झौताअनुसार डेलिस डेरिज उत्पादन क्षमतामा वृद्धि हुनेछ । चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ । यसैगरी कम्पनीको उत्पादनमा नवीनता छाउने, बजारको पहुँचमा विस्तार हुने, इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माणमार्फत् देशकै अग्रणी चीज उत्पादक बन्ने र आईपीओ निष्काशन गर्ने तयारीमा सघाउ पुग्नेछ । एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडेले लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरे । यसैगरी डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउने बताए ।