एनआईएमबी एस क्यापिटल १३औं वर्षमा, ४१ लाख बढी ग्राहकले पाए सेवा
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शुक्रबार १२ वर्ष पूरा भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल शुक्रबारदेखि १३औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुलारुपी म्युचुअल फण्ड लन्च गरेको थियो । कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।’ हाल एनआईएमबी एस क्यापिटलले १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ । साथै, एनआईएमबीले हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्न गर्दै आइरहेको छ । साथै, ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आइपिओरएफपिओ जारी गर्न सफल रहेको छ । कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्यसचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हाँसिल गरेको उपलब्धिलाई बधाई दिनुका साथै आगामी दिनको सफलताको लागि शुभकामना व्यक्त गरे । एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड(एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ । हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ । एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरू प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
माछापुच्छ्रे बैंकले कैलालीको विद्यालयमा निर्माण गर्यो खानेपानी सेवाको पूर्वाधार
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । यही साउन १८ गते शुक्रबार औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेकाले बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
सफल संस्था र खुसी कर्मचारी
कुनै पनि संस्था चाहे त्यो व्यावसायिक होस् वा गैर व्यावसायिक, सञ्चालन तथा व्यवस्थापनको लागि मानव संसाधनको संलग्नता अपरिहार्य रहेको हुन्छ । संस्थामा अन्य श्रोत र साधनहरु पर्याप्त मात्रामा रहेता पनि त्यसको अधिकतम् उपयोग तबमात्र सम्भव हुन्छ जब त्यस संस्थामा मानव संसाधनको प्रभावकारी रुपमा व्यवस्थापन गरिएको हुन्छ । प्रभावकारी मानव संसाधन व्यवस्थापन तब मात्र कल्पना गर्न सकिन्छ जब ‘दि राइट पर्सन प्लेस एट दि राइट पोजिसन’ हुन्छ । संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुले संस्था सञ्चालन गर्ने दायित्व, जिम्मेवारी, कार्य तथा कामको आधारमा फरक–फरक तर महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । मानव संसाधन व्यवस्थापन (एचआरएम) संस्थाको मानव पूँजीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने एक प्रक्रिया हो । यसले मानव संशाधन (कर्मचारीहरु) को भर्र्ना, प्रशिक्षण, विकास, मूल्यांकन, पुरस्कृत तथा दण्ड सजाय लगायतका क्रियाकलापहरु मार्फत समग्रमा संस्थाको उद्देश्य प्राप्तिमा योगदान गर्दै कार्यरत कर्मचारीहरुको कल्याण सुनिश्चित गर्ने कार्यहरुलाई समावेश गर्दछ । कुशल एवं सफल एचआरएमको उद्देश्य कर्मचारीहरुले उच्च स्तरको कार्यसम्पादन प्रदर्शन गर्ने, संस्थाका लक्ष्यहरु सजिलै प्राप्ति गर्ने, प्रतिस्पर्धीहरुको बिचमा संस्थालाई अग्रस्थानमा ल्याउने तथा कर्मचारीहरुको सन्तुष्टि र संस्था प्रतिको लगाव उच्च स्तरको बनाउने रहेको हुन्छ । अत: संस्थाको उद्देश्य प्राप्तिको लागि एचआरएमले देहाय बमोजिमका कार्यहरु कुशलतापूर्वक सम्पादन गर्नु पर्ने हुन्छ । मानव संसाधन (कर्मचारी) व्यवस्थापनका कार्यहरु : क) कर्मचारी योजना : संस्थाले तय गरेका उद्देश्य, व्यावसायिक योजना, नीति, बजेट तथा कार्यक्रमका आधारहरुमा निर्धारण गरिएका अल्पकालीन तथा दीर्घकालीन लक्ष्यहरु प्राप्तिका लागि गर्नुपर्ने कार्यहरुको विवरण सहित आवश्यक पर्ने जनशक्तिको बिश्लेषण तथा मूल्यांकन गरी कर्मचारी आवश्यकताको योजना तयार गर्नु पर्दछ । संस्थामा प्रभावकारी कर्मचारी योजना तयार गरी बढ्दो प्रतिस्पर्धात्मक वातावरणमा योग्य कर्मचारीबाट सही समयमा सही ठाउँबाट सेवा प्रदान गर्न तयार अवस्थामा रहनु पर्दछ । ख) दक्ष कर्मचारीको भर्ना छनोट प्रक्रिया : संस्थाको कर्मचारी योजना अनुसार आवश्यक कर्मचारी भर्ना छनौटका प्रक्रियाहरु अपनाउनु पर्ने हुन्छ । जसको लागी संस्थामा एक पदपूर्ति समितिको गठन गरी सोही समितिबाट कर्मचारी छनौटका कार्यहरु सम्पादन गरि नियुक्तिका लागि कार्यालय प्रमुख/आख्तियार प्राप्त पदाधिकारी समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । संस्थाले योग्य र दक्ष उम्मेदवारहरुलाई आकर्षित गर्न तथा भर्ना/छनोटलाई प्रभावकारी एवं पारदर्शी बनाउन पदपूर्ती कार्यविधि तयार गरी सोही अनुरुप विज्ञापन गर्ने, आवेदन संकलन गर्ने, परीक्षा, अन्तर्वार्ता लिने, परीक्षण गर्ने, नियुक्तका लागि सिफारिस तथा नियुक्ति गर्ने गर्नु पर्दछ । ग) कर्मचारीको प्रशिक्षण, वृद्धि विकासका कार्यक्रम : संस्थाले नियुक्त कर्मचारीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा गरेको हुन्छ । कार्यरत कर्मचारीहरुको ज्ञान सीप र क्षमता विकासका लागि संस्थाले कार्यस्थल वा कार्यस्थल भन्दा बाहिर विभिन्न प्रशिक्षण कार्यक्रम, तालिम तथा गोष्ठी हरुमा सहभागी गराई चुस्त दुरुस्त रुपमा कर्मचारी राख्नु पर्ने हुन्छ । वृत्ति विकासका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा तथा नेतृत्व विकास गर्ने गराउने गर्नु पर्दछ । घ) कार्यसम्पादनको आधारमा पुरस्कार तथा सुधारात्मक कदमको व्यवस्था : संस्थामा कार्यरत कर्मचारीको कार्यसम्पादन उच्च स्तरको राख्नका लागि संस्थाले त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा कार्य सम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्छ । कार्यसम्पादन मुल्यांकनका आधारमा कर्मचारीलाई आवश्यक पृष्ठपोषण गर्ने, पुरस्कृत गर्ने दण्ड सजाय, पदोन्नती (बढुवा) लगायतका कार्यहरु नियमित रुपमा गर्नुपर्छ । त्यसैगरी कर्मचारीको कार्य सम्पादन मुल्याँकनको आधारमा आवश्यक सुधारात्मक कदमहरु समेत चाल्नु पर्दछ । संस्था सदैव कर्मचारीहरुको उच्च मनोवलका साथ उच्च स्तरको कार्यसम्पादन गर्न अभिप्रेरित गर्न सक्नु पर्दछ । ङ) कर्मचारी लाभ तथा प्रोत्साहनका कार्यक्रमहरु : संस्थाले कार्यरत कर्मचारीहरुको आर्थिक कल्याण सुनिश्चितका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने हुन्छ । यसका लागि संस्थामा कर्मचारी सेवा सुविधा समितिको गठन गर्नु पर्ने हुन्छ । संस्थाले सकेसम्म श्रम ऐन तथा विनियमावलीमा तोकिएका न्यूनतम् व्यवस्था भन्दा माथि रहेर कर्मचारीहरुको सेवा सुविधा निर्धारण गर्न सक्नु पर्दछ । संस्थाले कर्मचारीहरुलाई प्रतिस्प्रधात्मक तलब (पारिश्रमिक) प्रोत्साहनमुलक भत्ताहरु, बिमा, औषधी उपचार खर्च, अवकास पछि पाउने उपदान रकम लगायत बिभिन्न वित्तीय तथा गैर वित्तीय लाभका प्याकेजहरुको माध्यमबाट कर्मचारीहरुलाई सन्तुष्ट बनाउन र उनीहरुको संस्था प्रतिको निष्ठा उच्च राख्न निरन्तर प्रयासरत रहनु पर्दछ । च) सकारात्मक सोच तथा सम्बन्धको विकास : संस्थामा कार्यरत कर्मचारीहरुलाई संगठनात्मक संरचनाका आधारमा बिभिन्न पद तथा श्रेणीमा बिभाजन गरिएको हुन्छ । संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि माथिल्लो पदका कर्मचारीहोस वा तत्लो तहका कर्मचारीहरु सबैंको बराबर तथा महत्वपूर्ण योगदान रहेको हुन्छ । संस्थामा हुने पदिय श्रृखला बिचमा सुमधुर सम्बन्ध कायम गर्न बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्ने, खुल्ला संचारको बातावरण सृजना गर्ने, गुनासो सुनुवाई गर्ने, बिबाद समाधान गर्ने, कर्मचारी सन्तुष्टि तथा खुसीकाे सर्वेक्षण तथा मापन गर्ने, कर्मचारीहरुसँग हरेक क्रियाकलापमा सहकार्य गर्ने लगायतका कार्यहरु गर्दा संस्था भित्र सकरात्मक कार्य बातावरणको सृजना हुने भएको सो तर्फ संस्थाको कर्मचारी व्यवस्थापन हरतहले प्रयत्नशील रहनु पर्ने हुन्छ । संस्थाले तोकिएको समयावधि भित्र निर्धारित लक्ष्य प्राप्त गरेको छ भने त्यस्तो संस्था नै सफल संस्था हो । संस्था सफल हुनको लागि आवश्यक विभिन्न स्रोतहरु मध्ये मानव स्रोतको महत्वपूर्व भुमिका रहेको हुन्छ । त्यसैले भन्ने गरिन्छ “संस्था सफल हुनु भने कै कर्मचारी सफल हुनु हो” । अर्थात कर्मचारी र संस्थाको सफलता एक अर्काका पर्यायवाची हुन् । तसर्थ संस्थाको सफलताको वाहकका रुपमा रहेका कर्मचारीहरुको कुशल व्यवस्थापन गर्न संस्थाका सञ्चालक तथा उच्च तहका कर्मचारीहरु प्रयन्नशिल रहनु पर्दछ । जसका लागि संस्थाले कर्मचारीहरुमा गर्ने खर्चलाई केवल खर्चको रुपमामात्र नलिई एउटा दीर्घकालिन लगानीको रुपमा लिन सक्नु पर्दछ । आज कर्मचारीहरुको बृद्धी विकास तथा व्यवस्थापनमा भएको सानो कमीकमजोरी भोलिका लागि ठूलो समस्या नहोस । तसर्थ संस्था सञ्चालनका लागि अवश्यक र्निजीव संयन्त्रलाई सजीव बनाई उपलब्धी हासिल गराउने मानव संसाधनको कुशल, पारदर्शी, नीति नियमसँगत रुपमा संस्थागत हितलाई ध्यान दिएर गरौं हाम्रालाई होईन राम्रालाई भर्ना छनौट तथा वृद्धी विकासमा अवसर दिऔं, संस्थागत लक्ष्य हासिल गरौं न की आफ्नो व्यक्तिगत लक्ष्य । (लेखक बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत छन् ।)