नेपाल रिको नाफा ५१ करोड ५८ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १३.४९ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको गत वर्ष खुद दाबी भुक्तानी ०.९१ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ, विशेष जगेडा कोष ३ अर्ब ९२ करोड रुपैयाँ, महाविपत्ती कोष ३.३३ प्रतिशत बढेर २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ६१.६८ प्रतिशत बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.०३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ ।

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले १८औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५‍.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि हासिल गर्न सक्षम भएको बैंकले जनाएको छ । कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्णवित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

आइएमई लाइफको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले वितरण गरेको बोनस वापतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता बोनस सेयर वितरण गरेको थियो । उक्त वितरित बोनस सेयर आइतबार सूचीकृत भएको हो । उक्त सेयर वितरण भएसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्ता पुँजी पूर्याउन निर्देशन दिएको थियो ।