मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको थियाे । साथै वार्षिकाेत्सवकाे अवसरमा ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट र दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशन स्थापित भएकाे हाे ।

फाइनान्स कम्पनीहरूको खुद नाफा २३ करोड ४८ लाख, ५ वटा घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटा बेहाेरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा बेहाेर्ने कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धिले साउनमा ८ करोड ६९ लाख घाटा बेहाेरेकाे छ । यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई समान ८, ८ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ? : 

ई-सेवाको दशैं-तिहार अफर, जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

  काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले यसपालिको दशैंतिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव: ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई-सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । आफ्नो आवश्यकताअनुरूप ई-सेवाका जुनसुकै सेवाको प्रयोग वा ई-सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएकाे छ । यसका साथै एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफाे‍न १६ पनि जित्न सक्नेछन् । मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा नै फिर्ता पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने कम्पनीले जनाएकाे छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएकाे छ । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई-सेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानीलगायतका सेवामा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरू ई-सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ । ई-सेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस ईसेवा लिमिटेडले उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरूबाट सेवा दिँदै आइरहेकाे छ । यस कम्पनीसँग १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त, २ हजार २०० भन्दा बढी ई-सेवा क्यास पाेइन्ट तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।