प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

काठमाडाैं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो । प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको १ करोड ५० लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले लगायत उपस्थित थिए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यवाद दिए । यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । योभन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।

बाढीपहिरो प्रभावितलाई नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक कार्यक्रमकाबीच कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा उप प्रमुख कार्यकारी अधिकृत तथा मुख्य वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख मुख्य परिचालन अधिकृत यदवेन्द्रकान्त एवं विकास आनन्द, मुख्य व्यवसाय विकास अधिकृत रितेश अर्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको थियो ।