ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, खराब कर्जा पनि घट्यो
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशत बढेको देखिन्छ । चालु आवको तीन महिनामा लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असोजसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ, सञ्चित नाफा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तले असोजसम्म ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ । यस्तै, लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ । लघुवित्तको लागत ८.१० प्रतिशत छ भने आधार दर १३.५३ प्रतिशत छ ।
३ बैंकसहित यी ५ संस्थाबाट संस्थापक बाहिरिँदै, बिक्रीमा राखे सेयर
काठमाडौं । विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महुली लघुवित्त र महिला लघुवित्तको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । प्राइम बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखिएको भनेपनि कति कित्ता सेयर हो भनेर खुलाएको छैन । तर, सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस्तै, लुम्बिनी विकास बैंकको १५ हजार ८१२ कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको ६ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । यस्तै, मितेरी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी मोहन कुमार सुवेदीले आफ्नो नाममा रहेको ४४ हजार ८४१ कित्ता सेयर बिक्रीमा राखेका छन् । उनले बिक्रीमा राखेको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । तर, ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ । यस्तै, महुली लघुवित्तबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी कविता कुमारी चौधरीले आफ्नो नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीले ६ हजार कित्ता गरी ११ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, महिला लघुवित्तको संस्थापक समूहको ८६ हजार ३२५ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन प्राधिकरणबाट स्वीकृत
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । साथै नेपाल बीमा प्राधिकरणण्ले कम्पनीको बीमाङ्किय मूल्याङ्कन पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक बर्ष २०८०÷८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो । बीमा कम्पनीको अर्थिक अवस्था कस्तो छ भनि बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ ।