क्रेष्ट माइक्रोको नयाँ बीमालेख योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको हो । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा बीमा गरेपश्चात नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रूपमा फिर्ता हुँदै जाने कम्पनीले जनाएको छ । यसका साथै बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा विविध कार्यमा आर्थिक सहायता प्रदान गर्दछ भन्ने कम्पनीको उद्देश्य रहेको जनाइएको छ । न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिने छ । बीमितको प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ५० वर्षसम्म रहने छ । अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहने कम्पनीले जनाएकाे छ । बीमा अवधि १५/२०/२५ वर्ष मध्ये बीमा गर्ने व्यक्तिले रोज्न सक्ने जनाइएको छ । उक्त पोलिसी खरिद गर्दा त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा बीमाशुल्क भुक्तान गर्न सकिने छ । अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरूका लागि भलाइ, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भूमिका खेल्ने विश्वास कम्पनीको छ । बीमाशुल्कवापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुनेछ । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशतसम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुनेछ ।

हिमालय सेक्युरिटिज बैंकरको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वरमा सञ्चालक समितिका अध्यक्ष श्री दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको हो । साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तीय लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरूको नियुक्ति तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरू निर्णयसहित पारित भएका छन् । यसैगरी, कम्पनीको अध्यक्ष पदमा दीपककुमार श्रेष्ठ, सञ्चालकतर्फ सीताराम वाग्ले र आकांक्षा गुप्ताको पुन: नियुक्ति भएको छ भने थप स्वतन्त्र सञ्चालकतर्फ बद्री सिग्देल तथा दिनेशकुमार लालको पनि नियुक्ति भएको छ । मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाषबहादुर श्रेष्ठले जानकारी दिए । हिमालयन सेक्युरिटिज हिमालयन बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको कम्पनी हो । हिमालयन सेक्युरिटिजले  धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट विसं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेको थियो भने माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौंको वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।