विजय लघुवित्तको आयेजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको आयोजनामा बिद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहल गैडाकोटमा आयोजित कार्यक्रममा सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक खेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष लोक बहादुर खड्का, सञ्चालक कपिल न्यौपाने, सञ्चालक कमलप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल, विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नारायण सापकोटाले गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा वित्तीय साक्षरताको अर्थ, यसको महत्व, सिद्धान्तहरु तथा वित्तीय साक्षरताका क्षेत्रहरुकोविषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गरे । उनले आवश्यकता र चाहाना, पारिवारिक बजेट, वित्तीय लक्ष्य, बचत, कर्जा तथा वित्तीय सेवा प्रदायक संस्थाहरुको बारेमा विस्तृत रुपमा भएको छलफल गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष श्री लोक बहादुर खड्काले निक्षेप तथा कर्जा सुरक्षा, विद्युतीय वित्तीय सेवा र यसको उपयोग, सम्पत्ती शुद्धीकरणको विषयमा जानकारी गराए । सोही अवसरमा मन्तब्य दिनु हुदै संस्थाका सञ्चालक कमल प्रसाद ज्ञावालीले लघुवित्तले वित्तीय पहुँचमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । शुभकामना ब्यक्त गर्दै विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटाले कार्यक्रम विद्यार्थीहरुका लागि उपयोगी रहेको बताए ।
नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा पाइने
काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरूलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ । त्यसैगरी, कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो । अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् । फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गरिन् । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत दिप बहादुर वि.सीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे । यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।