डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट, न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार पाँच सय ९५.६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा  ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ रुपैयाँ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, ९ अर्ब ६५ करोड कर्जा लगानी

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए । कार्यक्रममा सेयरधनीबाट उठेका जिज्ञासा एवम् सुझावको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले अहिले विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांक अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यको सर्वोपरि हित हुनेगरी कार्य गरिने बताए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२१ ओटा शाखा कार्यालयमार्फत १ लाख ५२ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । करीब ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

पौष मसान्तसम्म २७ बीमा कम्पनीले पेश गरेनन् वित्तीय विवरण, प्राधिकरण भन्छ- कारबाही गर्छौं

काठमाडौं ।  बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बीमा कम्पनीहरूले लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीहरूले आव समाप्त भएको ३ महिनाभित्रै लेखापरीक्षण गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । बीमा ऐन, २०७९ को दफा ८७ को उपदफा २ अनुसार ३ महिनाभित्र लेखापरीक्षण गर्न नसकेको खण्डमा कारण खुलाई २ महिना अवधि थप गर्न सकिने उल्लेख छ । यसरी, थप भएको समयभित्र लेखापरीक्षण समाप्त गरी एक महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्छ । अर्थात पौष मसान्तसम्ममा प्राधिकरणमा स्वीकृतिका लागि वित्तीय विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अधिकांश कम्पनीहरूले त्यसको उल्लङ्घन गरेको पाइएको छ । चालु आवको ६ महिना अर्थात् पौष मसान्त आज सोमबार सकिँदै छ । पौष मसान्त सकिसकेको अवस्थापमा पनि अधिकांश बीमा कम्पनीहरूले कानुनमा नै भएको व्यवस्था पालना नगरेको पाइएको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन कम्पनी, ७ वटा लघु र २ वटा पुनर्बीमा कम्पनीसहित जम्मा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये पौष मसान्तसम्म २७ वटा बीमा कम्पनीले वित्तीय विवरण पेश नगरेको प्राधिकरणले जनाएको छ । वित्तीय विवरण पेश नगर्ने बीमा कम्पनी पौष मसान्तसम्म प्राधिकरणमा वित्तीय विवरण पेश नगर्ने कम्पनीहरूमा १० वटा जीवन बीमा कम्पनी, १० वटा निर्जीवन बीमा कम्पनी, ५ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीहरूमा एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पौष मसान्तसम्म वित्तीय विवरण पेश गरेका छैनन् । यसैगरी, निर्जीवनतर्फ ओरिएन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड, नेशनल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पौष मसान्तसम्म वित्तीय विवरण पेश गरेका छैनन् । यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले वित्तीय विवरण पेश गरेका छैनन् । यस्तै, पुनर्बीमा कम्पनीद्वय नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले पनि विवरण पेश नगरेको प्राधिकरणले जनाएको छ । समयमै वित्तीय विवरण पेश गर्ने कम्पनी प्राधिकरणका अनुसार १० वटा कम्पनीले समयमा वित्तीय विवरण पेश गरेका छन् । यसरी समयमा विवरण पेश गर्नेहरूमा आईएमई लाइफ, मेटलाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, गार्डियन माईक्रो लाईफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये मेटलाइफ, सूर्यज्योति लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भइसकेको प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले जानकारी दिए । जसमध्ये सूर्यज्योति लाइफले वार्षिक साधारणसभा समेत गरिसकेको छ । प्राधिकरणले कारबाही गर्ने प्राधिकरणका अध्यक्ष मदन दाहालले कानुनको पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने बताएका छन् । विकासन्यूजसँग कुरा गर्दै उनले समयमा वित्तीय विवरण पेश नगर्ने कम्पनीहरूरुलाई कारबाही गर्ने उद्घोष गरे । उनले भने, ‘कानुनको पालना सबैले गर्नुपर्दछ । पालना नगर्ने कम्पनीहरूलाई हामी कारबाही गर्छाैँ ।’ के कारबाही गर्नुहुन्छ भन्ने पश्नमा उनको जवाफ छ , ‘कानुनमा उल्लेख भएअनुसार कारबाही गर्छौँ ।’ तर, अध्यक्ष दाहालले बीमा कम्पनीहरूले समयमा वित्तीय विवरण पेश नगर्नुको केही कारणहरू पनि रहेको बताए । विशेषगरी नेपालमा एक्चुअरी नभएको र एक्चुअरी भ्यालुएसनका लागि भारत फाइल पठाउनु परेकाले विवरण पेश गर्न ढिलाइ हुने गरेको उनले बताए । तर, जुनै कारणले ढिला भएको खण्डमा पनि कानुनअनुसार कारबाही गर्ने उनले दोहोर्‍याए । कस्तो कारबाही हुन्छ ? कारबाहीको बारेमा बीमा ऐन, २०७९ को दफा १३८ ले स्पष्ट पारेको छ । दफा १३८ अनुसार आव सकिएको ६ महिनाको समाप्त भएको एक हप्तासम्म विवरण पेश नगर्ने कम्पनीलाई दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना लाग्छ । विवरण पेश गर्ने म्याद नाघेको २ हप्तासम्म दैनिक ५० हजार रुपैयाँका दरले जरिवाना लाग्छ । यदि २ हप्ता पनि पार गरेको खण्डमा दैनिक एक लाख रुपैयाँका दरले कारबाही हुने कानुनी व्यवस्था रहेको छ ।