धमाधम बाहिरिँदै जीवन विकास लघुवित्तबाट संस्थापक, थप १० जनाले बिक्रीमा राखे सेयर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १० जना संस्थापक सेयरधनीहरूले ८ लाख ४५ हजार २२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १० सम्म उल्लेख गरी कोड नम्बर एदेखि जेसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि लघुवित्तको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले पनि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसअघि गत पुस ८ गते १२ संस्थापक सेयरधनीले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका थए ।

नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४ सय प्रतिशतले बढोत्तरी

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा चार सय प्रतिशतले वृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आ.व.को सोही अवधिसम्म खुद नाफा १ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै ८ करोड १ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ५४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व १ करोड ४१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आ.व.को दोस्रो त्रैमाससम्म २.६७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको छ ।