एनएमबि सरल बचत फण्ड–ई ले बाँड्दै २५ करोड ६८ लाख रुपैयाँ प्रतिफल
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ । कम्पनीका अनुसार २०८३ असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको इकाई पुँजीमा करसहित ५.२५ प्रतिशतका दरले २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । उक्त प्रतिफल प्राप्त गर्न साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ता मात्र योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिफल वितरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गरिनेछ । लाभांश पुनर्लगानी योजना रोजेका इकाईधनीले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गर्न सक्नेछन् भने पुनर्लगानीमा सहभागी नभएका इकाईधनीको प्रतिफल कर कट्टीपछि सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ । एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ । साथै बजारको अवस्था, लगानी अवसर र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ । कम्पनीले लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न आग्रह गर्दै प्रतिफलसम्बन्धी थप जानकारीका लागि आधिकारिक माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
बीमा कम्पनीहरूको वित्तीय क्षमता बलियो, सोल्भेन्सी अनुपात नियामकीय मापदण्डभन्दा माथि
काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता (सोल्भेन्सी रेसियो) समग्रमा मजबुत देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार १३ वटा जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८१ प्रतिशत देखिएको छ । प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोकेको छ । तर १३ वटै जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ भन्दा माथि नै रहेको छ । कम्पनीहरूको सोल्भेन्सी अनुपात नियामकले तोकेको न्यूनतम १.३ प्रतिशतभन्दा माथि रहनुले बीमितहरूको लगानी सुरक्षित रहेको र कम्पनीहरू भविष्यमा आउने सक्ने वित्तीय जोखिम न्यूनीकरण गर्न सक्षम रहेको संकत गर्छ। प्राधिकरणको तथ्यांकअनुसार रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक २.५४६ छ । सन नेपाल लाइफको सोल्भेन्सी अनुपात २.४३८, आइएमई लाइफको २.३९७, मेटलाइफको २.०८३ रहेको छ । त्यस्तै , एशिएन लाइफ इन्स्योरेन्सको १.३३२, सिटिजन्स लाइफको १.७२८, सूर्यज्योति लाइफको १.६५४, सानिमा रिलायन्स १.५१३, प्रभु महालक्ष्मी लाइफको १.९१६, नेशनल लाइफ इन्स्योरेन्सको १.६५५, नेपाल लाइफ इन्स्योरेन्सको १.५३७ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५०३ रहेको छ । हिमालयन लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३२४ छ । लघु जीवन बीमकको सोल्भेन्सी अनुपात पनि नियामकीय प्रावधानभन्दा माथि नै रहेको छ । प्राधिकरणले लघु जीवन बीमकको सोल्भेन्सी अनुपात १.५ तोकेको छ । गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफको २.०६, लिबर्टी माइक्रो लाइफको १.९९ र क्रेस्ट माइक्रो लाइफको १.९७ रहेको छ ।
सरकारकाे 'सुन्ने अनि थुन्ने' नीतिमा भद्दा मजाक
काठमाडौं । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल नियमित काममा फर्किएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई उनी नियमित काममा फर्किएको जानकारी दिएको हो । गत चैतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । कम्पनीले कार्यरत कर्मचारीकाहरूलाई छुट्ट्याएको सेयर बाँडफाँट सम्बन्धमा गलत विवरण पठाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको थियो । सीआईबीले उनीमाथि अनुसन्धान सम्पन्न गरेपछि उनी नियमित काममा फर्किएका हुन् । केही दिन हिरासतमा बसेका उनी पछि रिहा भएपनि कार्यालय हाजिर भएका थिएनन् । त्यसपछि कम्पनीले कवि फुयाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कुनै पनि अनुसन्धान नगरी सीआईबीले ठाडो उजुरीका आधारमा अर्याललाई पक्राउ गरेको थियो । बीमा क्षेत्रमा राम्रो सीईओको छबि बनाएका अर्याललको पक्राउले बीमा क्षेत्र नै एकाएक तरंगित बनेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अगाडि सुन्ने त्यसपछि मात्रै थुन्ने नीति लिएको बताए पनि सीईओ अर्याललाई भने ठाडो उजुरीका आधारमा पक्राउ गरिएको थियो । उनी सो विषयमा संलग्न नभएकै कारण सीआईबीले उनलाई रिहा गरेर उनी काममा पनि फर्किसकेका छन् । पछिल्लो समय सरकारले सुन्ने अनि थुन्ने भन्दा पनि थुन्ने अनि सुन्ने नीति आत्मसात गरेको अनुभुती, बैंकर, उद्योगी व्यवसायी तथा सर्वसाधारणले पनि गरेका छन् । सीईओ पक्राउ, बीमा क्षेत्र सरप्राइज