एशियन होटलले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एशियन होटल लिमिटेडले आफ्नो व्यवसाय विस्तारका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३५ लाख कित्ता सेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । उक्त रकमबाट जसबाट होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गरिने जनाइएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । होटल एसियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । हाल होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन् । आईपीओपश्चात् कम्पनीले पोखरा, काठमाडौं र चितवनमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न बैंकर्स संघ र भिसाले सहकार्य गर्ने
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग सहकार्य सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गरिनेछ । नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् । यस संयुक्त पहल अन्तर्गत प्रादेशिक गतिविधिहरूसँगै सरोकारवाला निकायहरूसँगको केन्द्रित अन्तरक्रिया सत्रहरू पनि समावेश हुनेछन् । मुख्य रूपमा, साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । प्रादेशिक कार्यक्रमहरूलाई सहयोग गर्नका लागि, विभिन्न निकाय र नियामक संस्थाका अधिकारीहरू सहितका सरोकारवाला सहभागी हुने व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यी गतिविधिहरूका साथै, भिसाका अधिकारीहरू र विभिन्न बैंकका अधिकारीहरू बीच विशेष अन्तरक्रियात्मक सत्र पनि गरिनेछ । नेपाल बैंकर्स एसोसिएसन र भिसादुवैले यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न, साथै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
लिवर्टी माइक्रोको खुद नाफा ५१.१८ प्रतिशतले वृद्धि
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको जीवन बीमाकोषको आकार ११०२.६७ प्रतिशतले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषको आकार ८० लाख रुपैयाँ थियो । गत वर्षमा कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा १९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख २० हजार रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी २.१९ रुपैयाँ छ ।