बीमा बजार विकास र पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणको कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसामयिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्रिर्या कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुती दिएका थिए । उनले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याउनुपर्ने, विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउने, नवीनतम् बीमा प्रणाली विकास गर्ने, दक्ष जनशक्ति र पूर्वाधार विकास आवश्यक रहेको तथा बीमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कोल्लिमार्लाले बीमाको पहुँच बढाउन नागरिकको आर्थिक अवस्था अनुसार बीमालेख निर्माण, बीमा शिक्षाको विस्तार, र बीमा सेवा ९दाबी भुक्तानीसम्म० चुस्तदुरुस्त हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीबीच नियामकीय दृष्टिकोणमा छलफल भयो भने दोस्रो दिन बीमकका प्रोडक्टरभ्यालुएसन विभाग प्रमुखहरूसँग बीमाङ्कीय दृष्टिकोणमा अन्तक्रिर्या सम्पन्न भयो । अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतबीच नेपालमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । कार्यक्रमका क्रममा कार्यकारी निर्देशक सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा सम्बन्धी राय सुझाव लिन उद्देश्या राखिएको बताए भने निर्देशक ढुङ्गेलले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझ परिस्कृत ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रम साउन २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, जापान र कोरियाबाट रकम पठाउन सहज

काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सुरु भएको छ । अब जापान र कोरियामा रहेका नेपालीहरूले जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत सहजै रकम पठाउन सक्नेछन् । यो साझेदारीपछि नेपालीहरूले नेपालका कुनै पनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सक्नेछन् । साथै, नियो मनी ट्रान्सफरका देशभर रहेका एजेन्ट नेटवर्कमार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ । नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले भने, 'जेआरएफ रेमिटसँगको साझेदारीले हामीलाई अझ छिटो र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्ने अवसर दिएको छ । यसले औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।' नियो मनी ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ६० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि अन्तर बैंक ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो । राष्ट्र बैंकले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ माग गरेको छ । यस प्रक्रियाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थालाई ध्यानमा राखी बढी भएको मात्र रकम केन्द्रीय बैंकमा जम्मा गर्नेछन् । राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राखेको करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले सो रकम व्यवस्थापन गर्न निक्षेप संकलन जारी गरिएको हो । गत शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बढी तरलता रहेको र हाल करिब साढे ६ खर्ब बराबरको तरलता राष्ट्र बैंकमा रहेको जानकारी समेत दिइएको छ ।