दुई महिनामा जीवन बीमकको व्यापार ३५ अर्ब २४ करोड, सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोडभन्दा बढीको व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार चालित १४ जीवन बीमा कम्पनीहरूले दुई महिनाको अवधिमा ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन्।  भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५९ करोड ६३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन्।  दुई महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले भदौसम्ममा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले दुई महिनाको अवधिमा ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । धेरै व्यवसाय आर्जन गर्ने तेस्रो कम्पनी एलआईसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दुई महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा ४ अर्ब ८० करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। 

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न भएको १० औं साधारणसभाबाट सञ्चालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो । संस्थापक सेयर सदस्यहरूबाट रेग्मीसहित सुरेशकुमार श्रेष्ठ, शेरबहादुर बुढाथोकी र सुनिल कार्की निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउँदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भूमिका रहेको उल्लेख गरे । गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरू प्रगतिको बाटोमा गएको धारणा राखे । क्यापिटलका निर्वाचन अध्यक्ष दीपक पाण्डेले आफूले आठ वर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरू सेयर गरेका थिए ।

मञ्जुश्री फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई २०.२७ करोड रुपैयाँ नगद बाँड्दै

काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चाल समितिको असोज ९ गते बसेको बैठकले असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ ।  उक्त सभाले कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा कम्पनीको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कन कर्ता नियुक्त गरी पारिश्रमिक तोक्न, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र आवश्यक सबै प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल राष्ट्र बैकको स्वीकृत लिई फाइनान्सको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-१० बाट वडा नम्बर ११ मा राख्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।