सुर्खेत, कैलाली र दाङमा नबिल बैंकको नयाँ शाखा
काठमाडौं । नबिल बैंकले बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङ मा गरि तीन वटा नयाँ शाखाहरु उद्घाटन गरेको छ । ती मध्ये बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका हुन् । कैलाली र दाङ शाखाहरुको उद्घाटन समेत बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् । बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नबिल बैंकले सो प्रदेशमा शाखा खोलेकोमा स्वागत गरेका थिए । उनले बैंकले दिने सेवा सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान मिल्ने विश्वास गरेका छन् । सोही समारोहमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउन अझै धेरै शाखा विस्तार गर्ने योजना रहेको सुनाए । उनले बैंकमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता व्यक्त गरे । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त खुलेका नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्ने जानकारी दिए । उनका अनुसार नबिल बैंकले ६२ वटा शाखाहरुको सञ्जाल, १०९ वटा एटिएमहरुको संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ मुलुकभर विभिन्न एजेन्टहरुमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने छ ।
सनराइज बैंकले शाखकर्मीलाई स्वास्थ्य बीमा अन्तर्गत २२ हजार भुक्तानी
काठमाडौं ।सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रू १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ । सोही क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक राजेन्द्रकुमार शाखकर्मीलाई एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रू २२ हजार ६१ बराबरको रकम बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले प्रदान गरेका छन् । बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘सामुहिक दुर्घटना बीमा सुविधा’ समेत प्रदान गर्दै आइरहेको जनाएको छ । उक्त सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिने व्यवस्था गरेको जानकारी गराएको छ । बैंकका अनुसार ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै ती दुवै बीमा सुविधाहरु प्राप्त गर्न सकिनेछ
बीरगञ्ज, बुटवल र बिराटनगरमा एनआईबिएलएस क्यापिटलको नयाँ शाखा
काठमाडौं । एनआईबिएलएस क्यापिटल लिमिटेडले एकै साथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको उक्त सहायक कम्पनीले आफुलाई अग्रणी रुपमा स्थापित गर्दै मर्चेन्ट बैंकिङ अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरुबाट सर्वसाधारणहरुलाई सेवा प्रदान गर्दै आएको बताइएको छ । हाल विस्तार गरिएको नयाँ शाखाहरुबाट शेयर निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरुलाई थप व्यवस्थित गर्ने कम्पनीको भनाइ छ । कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गरिरहेको बताएको छ । साथै बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ । आफ्नाग्राहकहरुको विश्वास र व्यापकतालाई मध्यनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा समेत शाखा विस्तार गर्दै जाने योजना गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङगा पोखरा लगायत स्थानहरुबाट विभिन्न सेवाहरु उपब्ध भइरहेको कम्पनीको भनाइ छ ।