सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, को हुन् उनी ?
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ११ प्रतिशत बढेर १२ करोड ८० लाख २० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोजसम्म कम्पनीको खुद बीमा शुल्क १८.७४ प्रतिशत बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोजसम्ममा कम्पनीको दाबी भुक्तानी १४.८२ प्रतिशत बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.२८ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र कुल खर्च १२.१७ प्रतिशत बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ बढेर १०.२२ रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लेटफर्म दराजबीच अनलाइन खरिदका लागि भुक्तानी सेवा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट डिजिटल पेमेन्ट तथा फाइनान्स सेवा प्रोजेक्ट लिड रिशव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल कार्तिक २५ गते देखि मंसिर ६ गतेसम्म लागू हुनेछ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । नेपाल बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न तथा क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नविनतम प्रविधि र डिजिटल संलग्नता विस्तार गर्ने रणनीतिअन्तर्गत दराजसहितका ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।