फेरिएको एनआईसी एशियाको रणनीति: पहिलो फोकस रिकोभरी, बिजनेस सेकेन्डरी

काठमाडौं । कुनै समय तीव्र शाखा विस्तार, ठूलो नेटवर्क र आक्रामक कर्जा विस्तारका कारण चर्चामा रहेको एनआईसी एशिया बैंक अहिले ठीक उल्टो दिशामा अघि बढिरहेको छ । बैंकको प्राथमिकता अब सञ्जाल विस्तार होइन, रिकोभरी बनेको छ । त्यसपछि मात्रै बिजनेस ग्रोथ ।  बैंकका अनुसार अहिलेको रणनीति स्पष्ट छ- ‘पहिलो फोकस रिकोभरी हो, बिजनेस सेकेन्डरी ।’ खराब कर्जाले नाफा र पुँजीमा दबाब बढाएपछि बैंकले व्यवसाय विस्तारको शैली नै परिवर्तन गरेको हो । जोखिम देखिएको एसएमई क्षेत्रमा कर्जा विस्तारलाई नियन्त्रण गर्दै कर्पोरेट र रिटेलमा छनोट गरेर लगानी गर्ने नीति लिएको छ । सँगसँगै शाखा, एटीएम, कर्मचारी र अन्य सञ्चालन खर्च कटौती गरेर लागत संरचना घटाउने योजना एनआईसी एशिया बैंकले बनाएको छ । यसको प्रभाव बैंकको नेटवर्कमा देखिन थालेको छ । ४४ वटा शाखा बन्द भइसकेका छन् भने थप तीन शाखा घटाउने सूचना जारी गरिएको छ । यी शाखा बन्द भएपछि बैंकको शाखा संख्या ३१३ को हाराहारीमा रहनेछ । आगामी दिनमा थप १ सयभन्दा बढी शाखा घटाएर करिब २ सयको हाराहारीमा सीमित गर्ने योजना बैंकको छ । साथै एनआईसी एशियाले शाखासँगै एटीएम नेटवर्कमा पनि कैंची चलाइरहेको छ । कुनै समय ६ सयभन्दा बढी एटीएम रहेको बैंकमा अहिले ५९२ वटा छन् । आगामी दिनमा करिब २ सय एटीएम थप घटाउने योजना बैंकले बनाएको छ । विशेषगरी कारोबार कम हुने, आम्दानीभन्दा भाडा तथा सञ्चालन खर्च मात्रै बढी हुने एटीएम बन्द गर्ने नीति बैंकले लिएको छ । एक्सटेन्सन काउन्टरको संख्या पनि घटाएर १०२ तथा ब्रान्चलेस बैंकिङ सेवा २६ वटामा सीमित गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार शाखा, एटीएम र अन्य सञ्चालन खर्च कटौतीबाट मात्रै करिब पौने १ अर्ब रुपैयाँ बचत भइसकेको छ । अब थप शाखा, एटीएम तथा आन्तरिक सञ्चालन खर्च घटाउँदा त्यही हाराहारीमा थप बचत गर्ने लक्ष्य छ ।  कुनै समय करिब ४ हजार कर्मचारी रहेको बैंकमा अहिले करिब २९ सय कर्मचारी छन् । जसकारण गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्मचारीको तलब खर्च ८.०९ प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ घटेर ३ अर्ब ५२ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । जबकि अघिल्लो वर्ष बैंकले कर्मचारीको तलबमा ३ अर्ब ८३ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो । साथै अघिल्लो वर्ष १ अर्ब ८० करोड रुपैयाँ अन्य सञ्चालन खर्च गरेको बैंकले गत वर्ष घटाएर १ अर्ब ४२ करोड रुपैयाँमा सीमित राखेको छ ।  सेलेक्टिभ ग्रोथ एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) जयेन्द्र रावलका अनुसार बैंकले अहिले कर्जा विस्तार गरिरहेको भए पनि त्यसलाई सेलेक्टिभ बनाएको छ । ‘रिकोभरी हाम्रो नम्बर वानमा छ । त्यसपछि कर्पोरेट र रिटेलमा सेलेक्टिभ ग्रोथ गरेर जाने योजना छ,’ उनले भने ।  पछिल्लो पाँच-सात महिनायता बैंकले कर्पोरेट क्षेत्रमा पुनः कर्जा विस्तार गर्न थालेको छ । पाँच-छ वर्षदेखि कर्पोरेट क्षेत्रमा खासै लगानी नगरेको बैंकले अहिले रणनीति परिवर्तन गरेको उनको भनाइ छ ।  उनका अनुसार कर्पोरेटतर्फ गत वर्ष मात्रै २०-२२ अर्ब रुपैयाँको थ्रेसहोल्डमा काम भएको र हाइड्रो क्षेत्रमा २२-२५ अर्ब रुपैयाँ बराबरको कर्जा भइसकेको बैंकले जनाएको छ । थप १०-१५ अर्ब रुपैयाँ बराबरका प्रस्ताव प्रक्रियामा छन् । हाइड्रोपावरमा बैंक लिड तथा को-लिड दुवै भूमिकामा अघि बढिरहेको छ । साना हाइड्रोमा लिड बैंकका रूपमा समेत काम गरिरहेको र एक-दुई परियोजनामा को-लिडको क्लोजर भइसकेको एसीईओ रावलले बताए । कर्पोरेट क्षेत्रमा बैंकले आफ्नो पोर्टफोलियोको २५-३० प्रतिशतसम्म एक्सपोजर बनाउने रणनीति अघि सारेको उनको भनाइ छ ।  एसएमईमा ब्रेक एनआईसी एशियाले विगतमा एसएमई क्षेत्रमा आक्रामक कर्जा विस्तार गरेको थियो । तर अहिले यही क्षेत्रमा खराब कर्जा (एनपीएल) को दबाब बढी देखिएपछि बैंकले त्यस क्षेत्रमा नयाँ कर्जा विस्तारलाई नियन्त्रण गरेको छ । एसएमईबाट पछि हटेर बैंकले रिटेलतर्फ ध्यान बढाएको एसीईओ रावलले बताए ।  विशेषगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको ट्युसन शुल्क तथा नेपालमै एमबीबीएसजस्ता महँगा विषय अध्ययनका लागि आवश्यक पर्ने कर्जालाई रिटेल व्यवसाय विस्तारको सम्भावित क्षेत्रका रूपमा लिएको उनले बताए ।  ‘गोल्ड लोन, एजुकेशन लोन र अटो लोनलाई बैंकले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘ग्रोथ गर्ने तर सेलेक्टिभ र कन्ट्रोल हुँदै जाने हो । अर्थात् बैंकको अबको लक्ष्य कर्जा बढाउनु मात्रै होइन, कुन क्षेत्रमा कर्जा बढाउने र कुन क्षेत्रमा जोखिम नलिने भन्ने निर्णय महत्वपूर्ण हुनेछ ।’ रिकोभरीमा डेडिकेटेड टिम बैंकको अहिलेको सबैभन्दा ठूलो चुनौती खराब कर्जा हो । गत असारसम्म बैंकको खराब कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ । त्यसैले बैंकले रिकोभरीका लागि छुट्टै संरचना बनाएको एसीईओ रावलले बताए ।  ‘करिब डेढदेखि दुई सय कर्मचारीलाई रिकोभरीमा परिचालन गरिएको छ । निश्चित शाखाहरूमा समेत डेडिकेटेड रिकोभरी संरचना बनाइएको छ,’ उनले भने, ‘व्यवस्थापनसँगै सञ्चालक समितिको ध्यानसमेत रिकोभरीमै केन्द्रित छ ।’ रावलका अनुसार रिकोभरीका लागि अपनाइएका अभ्यास राष्ट्र बैंकको नीति तथा निर्देशनअनुसार अघि बढिरहेका छन् । विशेष सम्पत्ति व्यवस्थापन कम्पनी बनेमा खराब सम्पत्ति व्यवस्थापन र रिकोभरीमा थप सहजता आउने बैंकको अपेक्षा छ । किनकि खराब कर्जा उठाउन बैंकको ठूलो समय, जनशक्ति र ऊर्जा खर्च भइरहेको छ । विशेष सम्पत्ति व्यवस्थापनसम्बन्धी संरचनाले त्यसलाई अलग व्यवस्थापन गर्न सके बैंकले आफ्नो मुख्य व्यवसायमा बढी ध्यान दिन सक्ने उनले बताए ।  यस्तो छ बैंकको वित्तीय अवस्था गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा भने बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँभन्दा बढी घाटामा थियो । अर्थात् बैंक घाटाबाट नाफामा फर्किएको छ । तर नाफाको आकार निकै सानो छ र खराब कर्जाको दबाब अझै उच्च छ । जसकारण गत वर्ष बैंकले २ अर्ब ९१ करोड रुपैयाँ प्रोभिजनिङमा राख्नु परेको छ ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.५६ प्रतिशतले घटेर ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड ५ लाख रुपैयाँभन्दा बढी थियो । खुद शुल्क तथा कमिसन आम्दानी भने बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ र सञ्चालन नाफा ९७ करोड ९१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको बैंक सञ्चालन नाफामा फर्किनु सकारात्मक संकेत हो । तर वितरणयोग्य नाफा अझै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । यसले बैंक नाफामा फर्किए पनि विगतको क्षतिको असरबाट पूर्ण रूपमा बाहिरिन बाँकी रहेको देखाउँछ । गत असारसम्म बैंकको निक्षेप ७.७१ प्रतिशतले बढेर ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकसँग ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख रुपैयाँ निक्षेप थियो ।  तर कर्जा लगानी भने घटेको छ । अघिल्लो वर्ष २ खर्ब १८ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको कर्जा लगानी गत असारसम्म १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँमा झरेको छ । यसले बैंक अहिले कर्जा विस्तारभन्दा ब्यालेन्स सिट सुद्धीकरणको अभियानमा रहेको देखिन्छ ।  एनआईसी एशियाको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ भने जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । तर कोर क्यापिटलअन्तर्गत टायर–वान क्यापिटल एडिक्वेसी रेसियो ६.८७ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा आएको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो भने ११.१० प्रतिशत रहेको छ । अघिल्लो वर्ष २५.९६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १.२२ रुपैयाँ धनात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ रहेको छ ।  डिजिटल कारोबारमा जोड  एनआईसी एशियाले लागत घटाउने अर्को ठूलो माध्यमका रूपमा डिजिटल बैंकिङलाई अघि सारेको छ । बैंकका अनुसार ९० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । दैनिक ३–४ अर्ब रुपैयाँ बराबरको कारोबार ग्राहक बैंकमा नआई डिजिटल माध्यमबाटै गरिरहेका छन् । ‘हिजो १० वटा शाखा चाहिनेमा अहिले दुईवटा शाखा भए पुग्छ । घर वा कार्यालयमै बसेर कर्जाको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था, डिजिटल कारोबार र नयाँ प्रविधिको प्रयोगलाई बैंकले आगामी दिनमा अझ विस्तार गर्ने योजना बनाएको छ,’ एसीईओ रावलले भने । 

नेपाल लाइफको कार्यक्रममा विवाद, दुई अभिकर्ता संघले जारी गरे विज्ञप्ति

काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा भएको विवादको विषयमा दुवै पक्षले फरक-फरक विज्ञप्ति जारी गरेका छन् । कम्पनीले बुधबार (हिजो) होटल याक एण्ड यतिमा आयोजना गरेको देशभरिका उत्कृष्ट अभिकर्ताहरूको राष्ट्रिय सम्मान कार्यक्रमका क्रममा भएको विवादपछि आज दुई अभिकर्ता संघले आ–आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ (नेपाल लाइफ) ले वर्षभरि मेहेनत गरेर कम्पनीको लक्ष्य पूरा गरेका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाएर दुर्व्यवहार गरिएको आरोप लगाएको छ ।  ‘श्रम ऐन बमोजिम विभागमा दर्ता भएका ट्रेड युनियनका नेताहरूलाई अपमान गरी अभिकर्ताहरूबीच फुट ल्याई बीमितहरुको बोनस घटाइरहेको र अभिकर्तामाथि असमान व्यवहार भएको छ,’ संघका सचिव तेजप्रसाद तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आफ्नो सांगठनिक पहिचान खोज्दा होटलमा बाउन्सर, सुरक्षाकर्मी र प्रहरी प्रयोग गरी संघका अध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतका अभिकर्ताहरूलाई गिरफ्तार गराइएको र श्रमिकको हक अधिकारमाथि ज्यादती गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।  अन्यायका विरुद्ध अभिकर्ता, बीमित र बीमा व्यवसायका हितका लागि आवाज उठाउन बीमाकर्मी, पत्रकार, बीमित र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा संघले अपिल गरेको छ । त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपालले केही गैर–अभिकर्ता तथा नियतवश आएका व्यक्तिहरूले अनावश्क विवाद निकाली भव्य रूपमा चलिरहेको सम्मान कार्यक्रमलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । संघको हरहिसाब हिनामिना गरी कागजात बरबुझारथ नगरी अर्को गैरकानुनी संगठन दर्ता गरिएको र बाहिरका मानिसहरू बोलाएर हुलहुज्जत गरी कम्पनीको साख र व्यवसाय वृद्धिमा आँच पुर्‍याउने कु–प्रयास गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।  राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमा भव्य रूपमा निरन्तर चलिरहेको बेला हुलहुज्जत गर्न खोजेको, कम्पनीलाई बदनाम गराउन खोेजेको र कार्यक्रममा सम्बन्ध नै नभएको विषयलाई ल्याएर भ्रामक कुप्रचार गरेको समितिले खण्डन गरेको छ ।  ‘कार्यक्रमको सम्मानलाई समेत प्रभावित बनाउने उद्देश्य लिएर अमुक कम्पनीमा काम गर्ने अभिकर्तालाई समेत बाहिर बोलाई हुलहुज्जत गर्न खोजेको, कम्पनीलाई बदनाम गर्न र कार्यक्रममा सम्बन्ध नै नरहेको विषय उठाई भ्रामक कू प्रचार गरी देशैभरिबाट सम्मानित हुन आएका अभिकर्ताहरूको मानमर्दन गर्ने कोसिस भएको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।  यस्ता भ्रामक र कू– प्रचारको खण्डन गर्न तथा यस्ता गलत प्रवृत्तिका विरुद्ध कानुनी कारबाही अघि बढाउन कम्पनी र सम्बन्धित निकायसँग समितिले मागसमेत गरेको छ । राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमा भव्य र सभ्य तरिकाले निरन्तर चलिरहेको अवगत गराउँदै यस्ता भ्रामक कू–प्रचारको सबै तहबाट खण्डन गर्नुका साथै यस्ता गलत प्रवृत्तिका विरुद्ध कानुनी कारबाही अगाडि बढाउन कम्पनी तथा सम्बन्धित निकायसँग संघले अनुरोध पनि गरेको छ ।

आईजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा सम्झौता

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । एकान्तकुनामा रहेको संघको कार्यालयमा भएको सम्झौता कार्यक्रममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीलगायत उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रविन लामिछाने, पूर्वअध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । सम्झौताअनुसार संघसँग आबद्ध देशभरका सदस्य तथा व्यवसायीको सम्पत्ति र सवारीसाधनको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ । साथै, संघ तथा आबद्ध संस्थाबाट बिक्री–वितरण हुने सवारीसाधनको समेत बीमा सेवा उपलब्ध गराइनेछ । बीमा गरिएका सवारीसाधन दुर्घटनामा परी क्षति भएमा सहज र सरल प्रक्रियाबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । सम्झौता कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले संघ तथा संघमा आबद्ध व्यवसायी र ग्राहकलाई सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले बीमालेख खरिद गरी आईजीआई प्रुडेन्सियलबाट सहज, गुणस्तरीय र भरपर्दो बीमा सेवा लिन व्यवसायी तथा ग्राहकलाई आग्रह ग रे। नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष लामिछानेले संघसँग आबद्ध ग्राहकको सन्तुष्टि क्रमशः बढ्दै गएको बताए । उनले आईजीआई प्रुडेन्सियलबाट बीमा सेवा लिन थालेपछि सेवा छिटोछरितो प्राप्त भइरहेको भन्दै सम्झौताप्रति खुसी व्यक्त गरे । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आगामी दिनमा पनि सेवा आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।