१० भन्दा बढि देशबाट सजिलै इसेवामा पैसा पठाउन सकिने
काठमाडौं । इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सक्नेछन् । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे । युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने र नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैंया अतिरिक्त क्यासब्याक प्राप्त हुने इसेवाले जनाएकाे छ । इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्स्फर युएइको इमिरेट्स् पोष्ट ग्रुपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो । यो कम्पनी विश्व रेमिट्यान्स्को क्षेत्रमा तिव्र रूपमा बजार विस्तार गर्न सफल भएको छ । युएइमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकीस्तान, बंलादेश र फिलिपिन्स्मा तिब्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुप्रै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।
अभियान लघुवित्तको अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा तीन जना निर्वाचित
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभा पुस २० गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न भएको हो । सभाले अध्यक्ष सहित ४ जना सञ्चालकलाई आगामी ४(चार)वर्षको लागि सर्वसम्मत रुपमा निर्वाचित गरेको हाे । साधारणसभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिले निर्वाचित सञ्चालकहरुमध्येबाट बाबुराम थापालाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक समिति अनुसार अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा भोजराज भट्टराई, भारती पाठक र प्रविण झा रहेका छन् । नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले अभियान लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई उद्यमी बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराएर मात्र गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा टेवा पुग्ने बताएका छन् । अभियान लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक पब्लिक कम्पनी हो । यो संस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । जारी पुँजी २५ करोड रुपैयाँ रहेको यस संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ । विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्याई देशको गरीबी न्युनीकरणमा योगदान दिने संस्थाको मुख्य लक्ष्य रहेकोे छ । संस्थाले छोटो अवधिमा नै देशभरका ६ वटा प्रदेश अन्तर्गत १९ जिल्लामा ३५ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ । त्यस्तै, संस्थाले छोटो अवधिमा नेपालका दुर्गम ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी त्यहाँका मानिसहरुलाई वित्तीय सेवा प्रदान गर्ने, ग्रामीण क्षेत्रका मानिसहरुमा वित्तीय सचेतना, उद्यमशीलता र जीविको पार्जनका लागि सीप प्रदान गर्ने, उच्च उत्साह र सीपयुक्त मानव श्रोतको साथ सुव्यवस्थित, प्राविधिक रुपमा सक्षम र दीगो संस्थाको विकास गर्ने र परिवारको महिला सदस्यको सहभागितामा पारिवारिक आय वृद्धिमा सघाउ पुर्याउन सफल भएको छ । अभियान लघुवित्तले लघुवित्त विपन्न तथा ग्रामीण क्षेत्रमा सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले कर्जा दिएर मात्र हुँदैन, सीप र उद्यमशीलता विकास सम्बन्धि तालिम समेत प्रदान गर्नुपर्छ भन्ने मान्यता बोकेर सदस्यमाँझ वित्तीय द्रुतगतिमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँछन्- बिक्री प्रबन्धक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो । हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओ भर्ने कसैको पनि हात खालि नहुने अनुमान गरिएको क्यापिटलले जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन(आईपीओ) निष्काशन गर्दै छ । बैंकले आगामी माघ २ गतेदेखि माघ ६ गतेसम्म सो मात्राको अर्थात ८ करोड कित्ता सेयर बिक्रीमा राख्न लागेको हो । यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुन गईरहेको छ । जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब रुपैयाँ संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(एनआईएफआरए)को स्थापना बैंक तथा वित्तिय संस्था(बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।