राष्ट्रिय बीमा कम्पनीकाे ४४ अर्ब ४४ कराेडकाे सेयर काराेबार राेक्का, कसकाे नियत के ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ कराेड रूपैयाँ भन्दा बढीकाे सम्पत्ति भाेगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नु पर्ने कानुनी प्रकृया पुरा नभएकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले साे कम्पनीकाे काराेबार बन्द गरिदिएकाे छ । वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको हाे । गत आर्थिक वर्षसम्मको लेखापरिक्षण भएको वार्षिक प्रतिवेदन नबुझाएसम्म सेयर कारोबार बन्द गरिने नेप्सेले जनाएको छ । तर राष्ट्रिय बीमा कम्पनी तत्काल लेखापरिक्षण प्रतिवेदन बुझाउन सक्ने अवस्थामा छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्मको मात्र लेखापरीक्षण भएको छ । तर आर्थिक वर्ष २०७३/७४ देखि यता अर्थात आर्थिक वर्ष २०७६/७७ सम्म ४ आर्थिक वर्षको आर्थिक प्रतिवेदन लेखापरीक्षण भएको छैन । ‘आर्थिक वर्ष २०७५/७६ सम्मको लेखापरीक्षणकाे धेरै काम सकिएको छ । आर्थिक वर्ष २०७६/७७ को पनि लेखापरीक्षण सक्दैछौं । केही प्राविधिक विषय मिलाउन बाँकी छ । २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । कम्पनीको सेयर कारोबार तत्काल फुकुवा गरिदिन नेप्सेलाई अनुरोध गरिएको उनले बताए । ‘पहिला नै गर्नुपर्ने काम बाँकी रहँदै आएको छ । कम्पनीमा नयाँ समस्या आएको होइन । पहिला समस्या हुँदा हुँदै पनि सेयर कारोबार खुला नै थियो । अहिले समस्या समाधानको प्रयास भैरहेको बेलामा कारोबार बन्द गरेर कसैको पनि हित हुँदैन’ अर्यालले भने ‘काराेबार बन्द गर्नुकाे नियत के हाे ? भन्ने पश्न उब्जिएकाे छ।’ ‘सेयरको मूल्य बढिरहेको छ । यो बेलामा लगानीकर्ताले सेयर बेच्न खोज्छन् । उनीहरुलाई समस्या हुनेगरी कारोबार बन्द गर्नु हुँदैन थियो’ उनले विकासन्युजसँग भने । सेयर कारोबार बन्द गर्दा कम्पनीको व्यवसायिक गतिविधिमा कुनै असर नगर्ने तर लगानीकर्तालाई समस्या हुने उनले बताए । उता नेप्सेले भने कम्पनीकाे सम्पूर्ण विवरण आएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । ‘हालसम्म कम्पनीकाे पुरै विवरण आइसकेकाे छैन । त्यसैले सम्पूर्ण विवरण आएपछि मात्र कम्पनीकाे सेयर काराेबार खुल्ने छ’, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकासन्युजसँग भने । कम्पनीले तत्काल काराेबार फुकुवा गरिदिन अनुरोध गरिरहेकाे आधारमा खुल्छ कि खुल्दैन भन्ने विकासन्युजकाे प्रश्नमा सीईओ साउदले भने- ‘राष्ट्रिय बीमा कम्पनीले मात्रै हाेइन कुनै पनि कम्पनीले अनुराेध गरेकाे भरमा राेक्का गरिएकाे सेयर काराेबार फुकुवा हुँदैन । काराेबार फुकुवा गर्नकाे लागि कम्पनीले सम्पूर्ण विवरण पेश गर्नै पर्छ । हामीले विवरण मागेका हाैं । हामी ऐन नियम अनुसार जान्छाैं । त्यसैले अनुराेध गर्दैमा काराेबार खुल्दैन ।’ कम्पनीले लेखापरिक्षणकाे काम गर्न पहल गरेकाे भएपनि त्यसकाे परिणाम भने देखिएकाे छैन । कम्पनीले दिएकाे जानकारी अनुसार कम्पनीले २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने गर्ने लक्ष्य लिएर काम गरिरहेकाे छ । यससँगै साे अवधिमा सबै काम सकेर नेप्सेमा सम्पूर्ण विवरण बुझाएमा कम्पनीकाे सेयर काराेबार २ महिना पछि मात्रै खुल्ने देखिन्छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १०० करोड हुनुपर्ने मापदण्ड बीमा कम्पनीहरुको नियामक बीमा समितिले तोकेर २०७५ असार मसान्तसम्म न्युनतम पुँजी कायम गर्न निर्देशन दिएको थियो । निजी लगानीको कम्पनीहरुले मापदण्डअनुसार पुँजी वृद्धि गरिसकेको छन् तर सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको पुँजी भने अझै न्युनतमको पनि एक चौथाई मात्र रहेको छ । लेखापरिक्षण नगरेकाे र वार्षिक साधारणासभा नगरकाे भन्दै बीमा समितिले पनि राष्ट्रिय बीमा कम्पनीकाे लाइसेन्स नविकरणा गरेकाे छैन । समितिले कम्पनीमाथि कानुनकाे परिपालनामा जाेड दिदै विभिन्न किसिमकाे दवाव दिदै आएकाे छ ।

ट्राफिक उल्लंघनको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले हस्ताक्षर गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो । अनलाइन भुक्तानी गर्दा जरिवाना बापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुने र जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिने इसेवाले जनाएकाे छ । सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नंबर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरी सहजै इसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनैपनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सकिनेछ ।  

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ २० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।