सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुको ४८ अर्ब ३३ करोड लगानी, कसको कति ?

काठमाडौं । पुँजी बजारका संस्थागत लगानीकर्तामध्ये बीमा कम्पनीहरु एक प्रमुख हुन् । कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको रकम नियामक निकायले तोकेको सीमामा रहेर पुँजी बजारका विभिन्न औजारहरुमा लगानी गर्ने गरेका हुन्छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार अहिले संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयर तथा बैंक वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा गरी ४८ अर्ब ३३ करोड ४५ लाख १२ हजार रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा व्यवसाय गर्ने कम्पनी मेट लाइफले भने यी दुबै क्षेत्रमा लगानी गरेको छैन । जीवन बीमा कम्पनीहरुले यी दुबै क्षेत्रमा गरेको लगानीमध्ये सूचीकृत पब्लिक कम्पनीहरुको सधारण सेयरमा १७ अर्ब ७२ करोड १२ लाख १२ हजार रुपैयाँ र वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा ३० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले गरेको यो लगानी चालु आर्थिक वर्षको दोस्रो त्रैमास (गत पुस मसान्त) सम्मको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ । संस्थानले गत पुस मसान्तसम्ममा ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्ने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै, लाइफ कर्पाेरेसन नेपालले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ ।

बोनसपछि सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ३.५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता ९६६ रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १९ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १००० रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९६६ रुपैयाँदेखि शुरु हुने छ ।

ज्योति लाईफका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने भएका छन् । कम्पनीले फागुन २१ गते अर्थात शुक्रबारदेखि निष्काशन गर्ने प्राथमिक सेयर (आईपीओ)मा सो कम्पनीमा काम गर्ने कर्मचारीहरुले १ हजार १५ कित्ता सेयर पाउने भएका हुन् । कम्पनीले कर्मचारीका लागि कुल निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सेयर छुट्याएको छ । हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार १५ कित्ता सेयर भागमा पर्छ । कम्पनीले शुक्रबार एक सय रुपैयाँ अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामुहिक लगानीकर्तालाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारण नागरिकहरुका लागि निष्काशन गरिएको छ । कम्पनीका अनुसार सर्वसाधारणले ६ दिनभित्र अर्थात फागुन २६ गतेसम्म आवेदन गरिसक्नु पर्नेछ । फागुन २२ गते शनिवार र २४ गते महिला दिवस परेकोले आईपिओको बिक्री ६ दिनसम्म हुने भएको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । तर सबैलाई पर्न सक्ने सम्भावना भने न्यून छ । आईपीओ बिक्री भइसकेपछि २ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी हुने कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकेको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले केयर नेपालबाट त्रिबल बी को रेटिङ पाएको छ । सम्बन्धित सामग्री ज्योति लाइफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना