निषेधाज्ञामा ‘टी प्लस वान’ भित्रै रकम तथा सेयर भुक्तानी गर्न ब्रोकरको आग्रह
काठमाडौं । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकरर्स एशोसियसन अफ नेपालले लगानीकर्तालाई ‘टी प्लस वान’ अर्थात कारोबार भएको मितिको भोलिपल्टै रकम तथा सेयर भुक्तानी गर्न आग्रह गरेको छ । एशोसियसनले निषेधज्ञाको असहज परिस्थितिमा दोश्रो बजार कारोबार निरन्तरतारको लागि लगानीकर्ता समक्ष उक्त आग्रह गरेको हो । संघले खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टी प्लस वान भित्र हस्तान्तरण गर्न सक्ने यकिन गरेर मात्रै कारोबार गर्न आग्रह गरेको हो । बैशाख १६ गते हुने निषेधाज्ञा अवधिमा लगानीकर्ताले चेक मार्फत खरिद रकम तथा भौतिक निर्देशन पूर्जी (डीआईएस) मार्फत बिक्री गरिएको ब्रोकरलाई उपलब्ध गराउन असहज हुने भएकाले बोर्डले लगानीकर्तालाई सो अनुरोध गरेको हो । त्यसैले, त्यस्ता माध्यमबाट मात्र रकम तथा धितोपत्र भुक्तानी गर्दै कारोबार गरिरहेका लगानीकर्ताहरुले विद्युतिय माध्यमबाट रकम तथा मेरो सेयर (ईडीआईएस) मार्फत सेयर भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । त्यस्तै, कारोबारको राफसाफ पश्चात लगानीकर्तालाई गर्नुपर्ने धितोपत्र तथा रकमको भुक्तानी समयमै गराउन ब्रोकर तयार रहेको संघले जनाएको छ । साथै, बैंक खाता अध्यावधिक नभएको, समयमै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारी संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नु पर्ने बाहेका अवस्थामा ब्रोकरले समयमै बिक्री रकम तथा खरिद सेयर हस्तान्तरण गर्ने जानकारी गराएको छ । ब्रोकरले नेप्सेको निर्देशन पालना गर्दै विद्युतिय माध्यमको प्रयोग मार्फत सेयर कारोबार तथा राफसाफ निरन्तर गर्न तथा गराउने भएको छ ।
गोर्खाज फाइनान्सको नाफा साढे २६६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ बढी
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सोहि अवधिमा २७ करोड ३७ लाख रुपैयाँ कमाएको छ । समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत आवको चैत मसान्तसम्ममा २५ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको संस्थाले चालु आवको सो अवधिमा २२ करोड ७९ लाख रुपैयाँ मात्रै त्यस्तो आम्दानी गरेको छ । यस अवधिमा फाइनान्सले ५८ करोड ११ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो । चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७८ करोड ५१ लाख रुपैयाँ छ । समिक्षा अवधिमा फाइनान्सले ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । फाइनान्सको खराब कर्जा ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा झरेको छ । सीडी रेसियो घटेर ७३.११ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ९.५२ प्रतिशत र ४.७५ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी बढेर ४२.०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।
दमौली खानेपानीलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने जानकारी दिएकाे छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै आइरहेकाे छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेकाे छ ।