सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १३५० रुपैयाँमा भएको थियो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।

कोभिड-१९ को रोकथाममा प्रभु क्यापिटलले सहयोग गर्यो विभिन्न स्वास्थ्य सामाग्री

काठमाडौं । प्रभु क्यापिटलले कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा विभिन्न सामाग्रीहरु वितरण गरेको हो । यससँगै समविकास नेपालले अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का बिरामीहरुलाई उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गर्नेछ ।

सनराइज ब्लूचिप फण्ड सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । सनराइज क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र सनराइज क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।