वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस

काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर आम्दानी) मा त्रुटि भएको जानकारी गराएको हो । कम्पनीले गत बैशाख २० गते तेश्रो त्रैमासिक विवरणको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ । तर आज एक सूचना मार्फत उक्त तथ्याङ्कमा भुलबस गलत भएको कम्पनीले जानकारी गराउँदै सच्याएको छ । जसअनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।

बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने, बैंकहरुलाई पनि खुल्यो बाटो

काठमाडौं । बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले आज एक संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बीमाको दायरा व्यापक बनाउनको लागि संस्थागत अभिकर्ताले पनि काम गर्न पाउने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था भएकोले समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो । ‘संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था ऐनमा नै छ, यसलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको हो, अब सो एनेको अधिनमा रहेर बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता राख्न पाउँछन्,’ कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्ने भनिएको छ । यस्तै, अभिकर्ताको संचालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उतिर्न गरेको हुनुपर्ने योग्यता तोकिएको छ । विद्युतीय प्रणाली मार्फत कारोबार गर्न सक्ने संस्थागत अभिकर्ताले बिमितसँग बीमा शुल्क संकलन गरी बिमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फाराम भर्न सहयोग गर्ने, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्ने, बिमकको तर्फबाट बिमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउने लगायतका काम गर्न पाउने अधिकार दिइएको छ । विद्युतीय प्रणाली मार्फत कारोबार गर्नको लागि सम्बन्धित निकायबाट इजाजत लिएको हुनुपर्नेछ । समितिले जारी गरेको नयाँ निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, विभिन्न प्रकारका क्लब तथा समुहहरु लगायतले पनि संस्थागत बीमा अभिकर्ता भएर काम गर्न पाउने छन् । [pdf id=278991]

पहिलो दिनमै सीईडीबी हाइड्रोको सेयरमा सर्किट, कतिमा भयो अन्तिम कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ४१ रुपैयाँले बढी हो । पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा शुरु भएको थियो । त्यसको २१ मिनेटको अवधिमै कम्पनीको सेयर सर्किट लेभल कारोबार भएको हो । र, बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४५७ रुपैयाँमा भएको हो । कम्पनीको मार्केट देप्थ अनुसार दिनभरको कारोबारमा कम्पनीको ९ लाख ६३ हजार ३०४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए भने बेच्ने कोही पनि थिएनन् । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दाेश्राे बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको थियाे । यससँगै कम्पनीकाे पहिलाे काराेबार अधिकतम मूल्यबाट शुरू भएकाे थियाे ।