१५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएका उक्त ऋणपत्र विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमाववली, २०७५ को विनियम ८ अनुसार सूचीकृत भएको हो । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा ४.७९ प्रतिशत व्याजदर पाइने छ । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै, २०७८ जेठ १३ गतेदेखि निष्काशन भएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुने जनाइएको छ ।

स्थगित भएको सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने प्रस्ताव रहेको छ । यसअघि कम्पनीले गत जेठ ११ गते वार्षिक साधारणसभा डाकेको थियो । तर कोरोनाको महामारी बढेर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै इन्स्योरेन्सले उक्त सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो ।

आधा घण्टामै पौने ३ अर्बको कारोबार, ३२ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेकाे विज्ञप्तिको प्रभाव बुधबारको सेयर बजारमा परेको छ । जसकाे कारण नियमित कारोबार खुलेको ३० मिनेट नबित्दै नेप्से परिसूचकमा तीव्र उतारचढाव र उच्च कारोबार भइसकेको छ । ११ बजेर ३० मिनेट जाँदा नेप्से परिसूचक ३२.३३ अंकले घटेर २९८९.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले घटी हो । शुरुवातमा ओरालो लागेपछि बजार खुलेको १२ मिनेटमा बढेर ३०२३ बिन्दुमा पुगेको परिसूचक पुनः ३००० बिन्दु तल झरेको छ । यो अवधिमा उच्च कारोबार भइसकेको छ । आधा घण्टाको अवधिमै १९२ कम्पनीको पौने ३ अर्ब अर्थात २ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३० मिनेट नबित्दै कम्पनीको १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसको मूल्य प्रतिकित्ता १८८५ रुपैयाँ रहेको छ । यो अवधिमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । उता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७३३ रुपैयाँ पुगेको छ ।