माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर संग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, इसिजी/इको/युएसजी, टिएमटी, डिजिटल एक्सरे, डेन्टल सर्भिसलगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ ।  चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्धनमा सघाउ पुग्दै आइरहेको छ ।

हिमालयन-सिभिल मर्जर : सीईओ पोखरेल भिआरएसमा बाहिरिँदै, सिभिलबाट फर्ष्ट म्यान रायमाझी बन्ने

काठमाडौं । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटीका अनुसार उनी भिआरएस सुविधामा बाहिरिने निर्णय पनि भइसकेको छ । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । हाल सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तह पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । यद्यपि, सञ्चालक बोगटीले भने सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताएका छन् । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् । ‘सिभिल बैंकमा एसिस्टेन्ट पद ४ वटा छन् भने हिमालयनले ५ वटा बनाएको छ, हाम्रो ४ वटा पोस्ट हिमालयन बैंकमा पनि त्यहि हुन्छ,’ उनले भने । १० गते एकीकृत कारोबारकाे तयारी  हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए । ‘हामीलाई अहिले समस्या आएको छ, हिमालयन बैंकका सीईओको बुवा र सिभिल बैंकका सीईओ पोखरेलको आमाको निधन भएको हुँदा समस्या भएको छ, त्यसैले नै एकीकृत कारोबार मिति सार्नु परेको हो, राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ, हामीले फागुन १० गते एकीकृत कारोबार गर्ने निर्णय गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।

दाबी सम्बन्धी कागजात पेश गरी दाबी लिन नेको इन्स्योरेन्सको आग्रह

काठमाडौं । नेको इन्स्योरेन्सले बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गरी दाबी दिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमितहरुलाई बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गर्न आग्रह गरेको हो । यस कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमा दाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु सम्बन्धीत सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउन बाँकी भएका बीमा दाबी सम्बन्धी कागजपत्रहरु कम्पनीमा पेश गर्न भनेको हो । यस सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्रमा सम्बन्धित कागजपत्रहरु कार्यालयमा बुझाउन सबै बीमितहरुलाई कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोकेकाे  समयमा पनि कागजपत्रहरु उपलब्ध नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले जनाएकाे छ ।