नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ फागुन १० गतेदेखि ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रमका साथै देशभरका ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ । साथै, कम्पनीले कर्मचारीहरुबीच विभिन्न खेलकुद कार्यक्रम पनि सम्पन्न गरेकाे छ । ३५ वर्ष अघि अर्थात् २०४४ साल फागुन १० गते नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीका नामबाट आफ्नो जीवन तथा निर्जीवन व्यवसाय सुरु गरेको थियो । तर, बीमा समिति (हाल बीमा प्राधिकरण)ले २०६३ सालमा जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था गरेपछि नेशनल लाइफले जीवन बीमा व्यवसाय मात्रै गर्दै आएको छ । स्थापनाकालमा कम्पनीको पूँजी २ करोड रुपैयाँ थियो । साढे ३ दशकभन्दा लामो इतिहास बोकेको कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा ६५ प्रतिशत संस्थापक सेयरधनीहरु र ३५ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ । कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र नेपाली संस्थापकहरुको हिस्सा ५५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा विदेशी लगानीकर्ताको सेयर स्वामित्व १ प्रतिशत रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा कम्पनीमा ३७६ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले कम्पनीको नेतृत्व गर्दै आएका छन् ।
नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध
काठमाडौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो समयमा २ लाखभन्दा बढी मर्चेन्टहरु कयुआरमा आवद्ध गरिनुले नेपालमा कयुआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने कम्पनीले जनाएकाे छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्युआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पे को सुविधा उपलब्ध रहेको छ ।
पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गरौं : सूर्यप्रसाद सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी कार्यक्रममा पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका हुन् । अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गरे । यस्तै, महानगरपालिकाकी उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा महानगरलाई सहयोग गर्न प्राधिकरणसँग आग्रह गरिन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताएका छन् ।