दावी भुक्तानीमा एग्रेसिभ बन्दै नेको इन्स्योरेन्स, बीमितलाई दियो ७२ करोड ७१ लाख रुपैयाँ
काठमाडौं । नेको इन्स्योरेन्सले बीमितहरुलाई गत माघसम्ममा ७२ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्यारेन्सले गत आव र चालु आवको माघ महिनासम्ममा परेको दावीमध्ये ७ हजार १३६ वटा दाबीको सो मात्राको भुक्तानी गरेको हो । इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३ हजार ६७२ वटा दावीको ५२ करोड ९१ लाख भुक्तानी गरी सकेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म आइपुग्दा चालु आवमा परेका दावीमध्ये ३ हजार ४६४ वटा दावीको १९ करोड ८० लाख रुपैयाँ भुक्तानी गरी सकेको इन्स्योरेन्सले जानकारी गराएको छ । त्यस्तै, कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको कम्पनीले दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ । विगत २७ वर्षदेखि नेपाली बीमा बजारमा सेवा पुर्याउँदै आएको नेको इन्स्योरेन्सले छिटो छरितो दावी भुक्तानी गर्दै आएको छ । र, बीमा दावी समयमा तिर्नुपर्छ भन्नेमा कम्पनी सचेत छ । जसको फलस्वरुप विगत केही वर्षहरुदेखि निरन्तर आफ्नो व्यवसायको आकार बढाउँदै आएको कम्पनीको दावी छ ।
‘लघुवित्तको लाभांश वितरणमा कडाई गरे धेरै समस्या समाधान हुन्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताएका छन् । सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन् । नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागको पनि बताए । उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए । ‘लघुवित्तका ३३ लाख बढी ऋणी छन्, वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन सकेन,’ उनले भने । यस्तै, उनले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताए । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे । ‘लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण छ, सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम लाग्दैन,’ उनले भने । उनले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी आग्रह गरेका छन् ।
महालक्ष्मी विकास बैंकले गर्यो विद्यालय र टोल सुधार समितिलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्य गरेको हो । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण गरेको छ । कक्षा एक देखि छ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराईरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीहरुको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुयाउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । त्यस्तै, बैंकको विजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण गरेको हो । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैकले जनाएको छ ।