पोखरा विश्वविद्यालयका ३४४ विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो । विद्यार्थीले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश जारीको माग गर्दै मंगलबार रिट दायर गरेका थिए । विश्वविद्यालयले रजिस्ट्रेसन शुल्कसमेत लिइसकेको अवस्थामा परीक्षामा सामेल हुन पाउनुपर्ने उनीहरूको माग थियो । रिट निवेदनको अन्तिम टुंगो लागेको बखत सोहीबमोजिम हुने गरी हाल रजिस्ट्रेसन अस्थायी रूपमा स्वीकृत गरी प्रोभिजनल रूपमा फारम भर्न दिन सर्वोच्चको आदेश छ । विद्यार्थीले रजिस्ट्रेसन शुल्क बुझाइसकेको, क्रिविका समान कार्यत्रममा उक्त योग्यताले काम गरेको, शैक्षिक सत्रमा भर्ना भई नियमित अध्ययनरत रहेकाले परीक्षाबाट वञ्चित गर्दा अपूरणीय क्षति पुग्न जाने आदेशमा उल्लेख छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजले भर्ना लिएका सम्बन्धमा कानुनबमोजिम भए–नभएको विषय अन्तिम सुनुवाइ हुँदा विचार हुने आदेशमा जनाइएको छ । विश्वोविद्यालय लामो समय देखी डि ग्रेड ल्याएका विद्यार्थीको रजिस्ट्रेसको बिषयलाई लिएर चर्काचर्की चलिरहेको थियो। गत जेठ्मा विश्वविद्यालय प्राज्ञिक परिषद् बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो जसमा कक्षा ११ र १२ मा हरेक बिषयमा न्युनतम सि ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा अध्ययन गर्ने पाउने बताईएको थियो। तर विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले भने मापदण्ड आफुखुसी व्याख्य गरेर समग्रमा सि ग्रेड ल्याउने विद्यार्थीलाई पनि भर्ना गरेका थिए। विश्वोविद्यालयले बैशाख ७ गते शनिबार विज्ञप्ती निकाल्दै आफु अन्तर्गत रहेका कुनै पनि कलेजले डी प्लस ल्याएका बिद्यार्थी भर्ना गरेको पाइए वा पुनः नियम उलंघन गरेको अवस्थामा सम्बन्धित कलेजको सम्बन्धन खारेज हुन सक्ने पनि बताएको थियो।

बाेर्डिङ स्कुलहरुकाे बढेकाे शुल्क फिर्ता, उठाइसकेकाे भए पनि फिर्ता गर्नुपर्ने

काठमाडौं। काठमाडाैंका निजी तथा आवासीय विद्यालयहरुले लिएकाे भर्ना र मासिक शुल्कमध्ये २७ प्रतिशत शुल्क फिर्ता गर्नुपर्ने भएकाे छ । काठमाडाै‌ं महानगरपालिका शिक्षा विभाग अन्तर्गतकाे शिक्षा समितिले भर्ना र मासिक शुल्क बढाउनेगरी यसअघि गरेकाे निर्णयलाई महानगरकाे कार्यपालिकाले खारेज गरिदिएपछि त्यसाे गर्नुपर्ने भएकाे हाे । समितिले यसअघि महानगर क्षेत्रभित्रका विद्यालयहरुले लिन पाउने शुल्क अघिल्लाे शैक्षिक सत्रभन्दा करिब २७ प्रतिशतले बढाउने निर्णय गरेकाे थियाे । तर मेयरकाे नेतृत्वमा रहेकाे कार्यपालिका उक्त निर्णयप्रति असहमत भएपछि शुल्क घटेकाे हाे । घटेकाे शुल्कका आधारमा अब  ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो । त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँसम्म मासिक शुल्क र बढीमा एक महिनाकाे मासिक शुल्क बराबर भर्ना शुल्क लिन पाउँछन् । विद्यालयहरुले ब९ेकाे शुल्कअनुसार यसअघि नै उठाएकाे रकम पनि अर्काे महिनाकाे शुल्कमा समायाेजन वा फिर्ता गर्नुपर्ने महानगरले जनाएकाे छ । महानगरको शिक्षा विभाग प्रमुख निर्मला केसी कार्यपालिकाकाे निर्णयबमाेजिम यसअघि बढेकाे शुल्क फिर्ता भएकाे भन्दै अब बढेकाे शुल्कअनुसार रकम उठाउनेले त्याे रकम फिर्ता गर्नुपर्ने बताइन बताईन्। महानगरले शुल्क बढाउने निर्णय गरेपछि अभिभावकहरुले त्यसकाे विराेध गरेका थिए । अभिभावककाे विराेधकै कारण महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय गर्नुपरेकाे बताइएकाे छ । यद्यपी अभिभावककाे सहमतिमा जतिपनि शुल्क लिन पाउने ‘लुपहाेल’का कारण विद्यालयहरुले मनलाग्दी शुल्क असुल्दै आएका छन् ।

९ करोड ९८ लाखमा बनेको विद्यालय भवन प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएका भवनहरुको अवलोकन पनि गरे । एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)बाट भवनहरु पुनर्निर्माण गरिएको हो । सुविधा सम्पन्न भवनहरुको पुनर्निर्माण लागत ९ करोड ९८ लाख रुपैयाँ रहेको छ । उद्घाटनपछि ती विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रतिरोधी संरचना सहित सुविधा सम्पन्न विद्यालय बनेकोमा खुशी व्यक्त गरे । उनले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाहरुको पनि पुनर्निर्माण गर्ने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माणले अझ राम्रो र बलियो भन्ने नारा साकार हुँदै गएको बताए । उनले विद्यालयहरु नमूनाका रुपमा पुनर्निर्माण भइरहेको भन्दै पुनर्निर्माण भइरहेका विद्यालयहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न लागिपरेको बताए । कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभ, धुलिखेल महानगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु लगायतले धारणा व्यक्त गरे । सो अवसरमा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।