दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सकियो, ‘इँटाबाहेक सबै सामग्री चीनबाट’
काठमाडौँ । नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महिनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराइन् । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको हो । राजदूत यान्छीले भूकम्पबाट भत्किएपछि विद्यार्थीले स्कूलमा पढ्न नपाएकाले चाँडै नै कक्षा कोठामा पढ्ने वातावरण बनाउनका लागि पुनःनिर्माणको काम दु्रतगतिमा गरिएको बताइन् । “स्कूलको पुनःनिर्माणको काम चाँडै नै सम्पन्न गरेर विद्यार्थीलाई सुरक्षितरुपमा पढ्न पाउने वातावरण तयार हुनेछ”, उनले भनिन्, “स्कूल पुनःनिर्माण गरेर नेपालको आधुनिक शिक्षामा सहयोग पुग्नेछ ।” उनले चीनको सहयोग नेपालको हरेक क्षेत्रमा हुने भन्दै आर्थिक र सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोग हुने बताइन् । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छोटो समयमा नै चिनियाँ कम्पनीले स्कूलको पुनःनिर्माण गरेको बताए । उनका अनुसार दरबार हाइस्कूलसँगै सिन्धुपाञ्चोकमा दुई, रसुवामा दुई र दोलखामा दुई स्कूलको पुनःनिर्माण चिनियाँ सरकारको सहयोगमा भइरहेका छन् । चीनले भूकम्पपछि २५ वटा परियोजनामध्ये छ वटाको काम सम्पन्न भइसकेका छन् भने १९ वटाको काम भइरहेको छ । कार्यक्रममा स्कूलका प्रधानाध्यापक हेमचन्द्र महतोले पुनःनिर्माणपछि विद्यालयलाई पठनपाठनमा सहयोग मिल्ने बताए । स्कूलको पुनःनिर्माण हुन थालेपछि विद्यार्थी अहिले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा अध्ययन गरिरहेका छन् । “भूकम्पपछि स्कूल भत्किएर पठनपाठनमा समस्या परिरहेको थियो”, उनले भने, “अब चाँडै नै पुनःनिर्माणको काम सकेर विद्यार्थी पुनःआफ्नै स्कूलमा पढ्न पाउनेछन् ।” १९१० मा स्थापना भएको दरबार स्कूलमा गत विसं २०७२ को भूकम्पका कारण क्षति पुगेको थियो । भूकम्पपछि विद्यार्थीलाई बाहिर अस्थायी टहरा बनाएर पढाउने गरिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले रु ८० करोड लगानीमा उक्त स्कूलको पुनःनिर्माण गर्न थालेको जानकारी गराए । उनका अनुसार आउँदो पुसमा चिनियाँ सरकारले हस्तान्तरण गर्नेछ । चिनियाँ कम्पनी सङ्घाइले चिनियाँ सामग्री ल्याएर नै स्कूल पुनःनिर्माण गरेको हो । कार्यान्वयन एकाइका आयोजना उपप्रमुख दिलीपशेखर श्रेष्ठले इँटाबाहेक सबै सामग्री चीनबाट नै ल्याएर बनाइएको जानकारी गराए । एकाइले स्कूलका लागि चाहिने सामग्रीको राजस्व छुट गराउनेदेखि कामदारको राहदानी आवेदन गर्ने काम गरेको थियो । पहिले तीन तला रहेको दरबार स्कूल अब चार तलाको ४५ वटा कोठा रहने आयोजना उपप्रमुख श्रेष्ठले बताए । उनका अनुसार पुनःनिर्माणको काम सकिएकाले अब रङरोगन, विद्युत्लगायत फिनिसिङको काम मात्र बाँकी रहेको छ । तीमध्ये २२ वटा कक्षाकोठा, १४ वटा कम्युुटर, दुई वटा पुस्तकालय, एक कोठा चित्रकला, एक कोठा श्रवणकक्ष, कार्यालयका लागि तीन कोठा, हलका लागि एक कोठा र खाजाका लागि एक कोठा रहनेछन् । दरबार स्कूलमा अहिले भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालय रहेका छन् । अहिले भानु विद्यालयमा १६५ र संस्कृत माविमा २५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । रासस
नगरभरीका विद्यालयमा एउटै रङ, १ करोड रकम बिनियोजन
लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति धनबहादुर शाहले सामुदायिक विद्यालय एकै खालको देखाउन बजेट विनियोजन गरेको बताए । “पहेँला र कलेजी दुई प्रकारको रङ लगाउने सहमति भएको छ”, स्रोतव्यक्ति शाहले भने, ‘‘सामुदायिक विद्यालयको छुट्टै पहिचान स्थापित होस् भन्ने चाहना पनि हो ।’’ शाहीले अधिकांश सामुदायिक विद्यालय एक दशकभन्दा बढी समयदेखि रङरोगन नभएको अवस्था रहेकाले यो अभियानले राहत हुने बताए । सब इञ्जिनीयर गम्भीरसिंह साउदले प्राविधिकले लागत अनुमान तयार गरिरहेको बताउँदै रु १० लाखभन्दा कम लागत लाग्ने विद्यालयमा व्यवस्थापन समितिको सहयोगमा रङरोगन गरिने बताए । उनले भने, “१० लाख माथिका योजना भए ठेक्कामा दिने प्रचलन छ । जेठभित्र रङरोगन सक्ने गरी काम थालेका छौँ ।” नगरपालिकाले रङगरोगन गरिदिने भएपछि शिक्षक पनि खुशी भएका छन् । त्रिभुवन मावि बटनपुरका प्रअ रवीन्द्र कठायतले स्थानीय सरकारले सबै विद्यालयलाई समेट्ने गरी उदाहरणीय कार्य शुरु गरेको बताए । ‘‘सबै विद्यालय एउटै खालका देखिन्छन्, यसले विभेद अन्त्यमा समेत सहयोग पुगेको छ”, प्रअ कठायतले भने, “वर्षौंदेखि आर्थिक अभावमा रङरोगन गर्न नसकेका विद्यालयलाई राहतसमेत भएको छ ।” नगरपालिकाले शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपछि टीकापुरमा परीक्षा प्रणाली व्यवस्थित गरिएको जनाएको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धिका लागि विषयगत पाठ्ययक्रमसहितको योजना बनाएको शैक्षिक पात्रो हरेक विद्यालयमा उपलब्ध गराइएको बताए । “हरेक महीना प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल हुन्छ”, नगरप्रमुख रावलले भने, “विद्यालयमा राम्रा काम र समस्याबारे छलफल हुन्छ, बजेट आवश्यक भए कार्यपालिकाले निर्णय गर्छ ।” कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्न थालेको छ । नगरप्रमुख रावलले शिक्षा नियमावली पनि अन्तिम चरणमा रहेको बताउँदै शिक्षा नियमावली स्वीकृत भएपछि अझ शैक्षिक विकासमा सहयोग पुग्ने बताए । रासस
प्रधानमन्त्रीले भने-‘सामुदायिक विद्यालयसँग प्रतिष्पर्धा गर्न निजीलाई हम्मेहम्मे’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि सरकार लागिपरेको बताएका छन् । हिसान र कान्तिपुरले संयुक्त रुपमा आयोजना गरेको एड्युफेयरको विहीबार राजधानीमा उदद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘केही समयपछि सामुदायिक विद्यालयको गुणस्तर यति माथि पुग्नेछ कि निजी विद्यालयलाई प्रतिष्पर्धा गर्न हम्मेहम्मे पर्नेछ ।’ तर, यसो भन्दैमा निजी क्षेत्रलाई सरकारले घाँटी निमोठ्ने काम गर्दैन–उनले भने । कार्यक्रममा बोल्दै ओलीले निजी क्षेत्रले विकासको अगुवाई गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको उन्नतीको लागि निजी र सार्वजनिक क्षेत्र संगसंगै हिड्नुपर्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहन नमिल्दा विद्यार्थीहरु बाध्य भएर अध्ययनको लागि बाहिर जानु परेको पनि प्रधामन्त्री ओलीले उल्लेख गरे । नेपालमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराको साथ विभिन्न विद्यालय तथा कलेजको सहभागितामा काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम आयोजना गरिएको हो । एड्युफेयरमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । एड्युफेयरमा ४ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासंग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।