लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर पारित
काठमाडौं, १ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७२/०७३को नाफाबाट सेयरधनीलाई १८ दशमलब १८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न २८ औं वार्षिक साधरणसभाले सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको छ । उक्त बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैयाँ पुग्ने छ । सभाले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त
काठमाडौं, ३० मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । पन्तको कार्यकाल मंसिर २८ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै पन्तले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् । कम्पनीले पूर्व सञ्चालक शिवजीरे यादवको पदमा रविन्द्रराज पन्तलाई नियुक्ति गरेको हो । पन्तले केहि समय अघि मात्रै एनआइडिसी डेभलपमेन्ट बैंकको निर्देशकबाट राजीनामा गरेका थिए ।
एनएलजी इन्स्योरेन्स कम्पनीले २६ प्रतिशत लाभांश दिने, पूँजी ५० करोड रुपैयाँ नाघ्ने
काठमाडौं, २१ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २६ दशमलब ३१५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ३१५ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । उक्त निणर्य मंगलबार बिहान बसेको कम्पनीको १९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको बैठकले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको प्रतिकित्ता सेयर करिब १६८७ रुपैयाँमा कारोबार भइरहेको छ ।