अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।
एशियन लाईफले ल्यायो नयाँ बीमा योजना, एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैको सुरक्षा
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न उक्त योजना प्रचलनमा ल्याएको हो । यस योजना अन्तर्गत एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबै जनाको बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने कम्पनीले जनाएको छ । त्यस्तै, ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने र ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट पाइने छ । यस योजनाको विभिन्न विशेषताहरु जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुट तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमा शुल्क भुक्तानीको सुविधा रहेको छ । यस बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाइने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाइने छ । त्यस्तै, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।
माछापुच्छ्रे बैंकद्वारा ५ लाखसम्मको बीमा रकम भुक्तानी
काठमाडौं । माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहि आएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो । उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बि के श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हक दाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् । माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५% व्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमा खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर सम्म ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकलाइ बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।