युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने
काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो । कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।
राष्ट्रिय बीमा कम्पनीमा नयाँ सीईओ, डिल्लीराज अर्याललाई अर्थले काजमा पठायो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । तात्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि त्यसबारे राजीनामा दिएकोबारे केही दिन अघिमात्र समाचार सार्वजनिक भएको थियो । सोलगत्तै अर्थले अर्याललार्इ कायम मुकायमको जिम्मेवारी दिएर पठाएको हो ।
नेपालगञ्जमा सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाबाट उक्त उद्घाटन कार्यक्रम सम्पन्न गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन् । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।