एनआईसी एशियाकाे चमत्कारिक योजना अन्तर्गत बुद्धिरामले पाए १५ लाख रूपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता योजना अन्तर्गत अर्घाखाँचीका बुद्धिराम भुसाललाई १५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले भुसाललाई बीमा रकम बापतको सो चेक हस्तान्तरण गरेको हो । चमत्कारिक बचत (डाइमण्ड) खातावाल बुद्धिराम भुसालूलाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुने बित्तिकै प्रदान उक्त रकम प्रदान गरिन्छ । बीमा वापतको १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् । बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।

अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै, अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रष्ट पारे । तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए । साथै सहजीकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।

व्यवसाय विस्तारको लागि राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको हेटौंडा शाखाले जीवन बीमा अभिकर्ताको लागि तीन दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । संस्थानले व्यवसाय विस्तारको लागि मंसिर २६ गतेदेखि मंसिर २८ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरेको थियो । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले संस्थानले उक्त कार्यक्रम संचालन गरेको हो । संस्थानका हेटौंडा शाखाका प्रमुख केशव बजगाईको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र नारायणगढ शाखाका प्रमुख उषा सापकोटाले प्रशिक्षण दिएका थिए ।