राष्ट्रिय बीमा कम्पनी एक वर्षदेखि कामचलाउको भरमा, सीईओ छिट्टै खोज्ने अध्यक्षको दाबी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी गर्न थालेको छ । करिब १ वर्षदेखि अर्थमन्त्रालयले पठाएका डा. डिल्लीराज अर्यालले सीईओको रुपमा काम गरेका भएपनि कम्पनी बल्ल सीईओ खोज्न लागेको हो । अर्थमन्त्रालयले पठाएका प्रतिनिधिको भरमा कम्पनी चलाउनु संस्थागत सुशासन विपरित भएको भन्दै नियामक निकाय बीमा समितिले प्रश्न उठाएपछि कम्पनी नयाँ सीईओको खोजीमा लागेको हो । नयाँ सीईओ खोजीको प्रक्रिया छिट्टै सुरु हुने कम्पनी संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले जानकारी दिए । कम्पनीमा लामो समयदेखि लेखापरीक्षण बाँकी रहेकोले सरकारी प्रतिनिधिले नै कम्पनीको नेतृत्व लिदा काम गर्न सहज होला कि भन्ने अनुमानले सीईओ छनोटमा केही ढिलाई भएको अध्यक्ष उपाध्यायले वताए । ‘सीईओ नियुक्ति प्रक्रिया केही ढिला भएको हामीले महसुस गरेका छौं, लेखापरीक्षण लगायतका पुराना केही काम बाँकी रहेकोले पनि ढिलाई भएको हो, नियामकले पनि सीईओ नियुक्ति प्रक्रिया छिटो सुरु गर्न भनेको छ, त्यसैले छिट्टै नै प्रक्रिया अगाडि बढाउँदैछौं,’ अध्यक्ष उपाध्यायले भने । सेकेन्डमेनको पनि खोजी कम्पनीले व्यवस्थापन सम्हाल्ने सेकेन्डमेन पनि नियुक्त गर्न सकेको छैन । सीईओ र डेपुटी सीईओ नै नहुँदा प्रशासनिक काम कारवाहीमा असर पुगेको कर्मचारीहरुको भनाइ छ । बीमा समितिले जारी गरेको विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा टेकेर भएपनि चाढै नै डेपुटी सीईओ नियुक्त गर्ने तयारी भएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन, शिवनाथ पाण्डे अध्यक्ष

काठमाडौं । जीवन बीमा कम्पनीहरूकाे संगठन जीवन बीमक संघ नेपाल दर्ता भएकाे छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा नयाँ संघ दर्ता भएकाे हाे । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफका सिइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका सिइओ पोषकराज पौडेल र कोषाध्यक्षमा रिलायन्स लाइफका सिइओ प्रविण रमण पराजुली रहेका छन् । कार्य समिति सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, रिलायबल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बावु लोहनी, ज्योति लाइफका डेपुटी सिइओ प्रकाश विक्रम खत्री, सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल र युनियन लाइफ इन्स्याेरेन्सका सिइओ मनोज कुमार कर्ण रहेका छन् । नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरू हावी हुँदै गएपछि जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन भएकाे बीमकहरूकाे भनाइ छ । २ वर्षअघिसम्म १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी थिए । त्यतिबेला नेपाल बीमक संघकाे नेतृत्व जहिले पनि निर्जीवन बीमा कम्पनीबाट चुनिदा जीवन बीमा कम्पनीहरू उक्त संस्थाबाट क्रमशः निस्क्रय बन्दै गएका  थिए । पछिल्लाे २ कार्यकालमा नेपाल बीमक संघकाे कार्यसमितिमा  जीवन बीमा कम्पनीकाे प्रतिनिधित्व शुन्य थियाे । पछिल्लाे समय एक पटक १० वटा जीवन बीमा कम्पनी खुलेपछि जीवन बीमा कम्पनीकाे संख्या १९ वटा भएका छन् । निर्जीवन बीमा कम्पनीकाे संख्या २० वटा छ । पुर्नबीमा कम्पनी एउटा छ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीकाे भूमिका धेरै फरक भएकाे र जीवन बीमा कम्पनीहरूकाे साझा सवालमा मिलेर काम गर्न अलगै संस्था खाेल्नु परेकाे जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीकाे लागि कानुन एउटै भएपनि, नियामक एउटै भएपनि हामीले गर्ने काम, हामीले लिने दाहित्वमा धेरै फरक छ’ अध्यक्ष पाण्डेले भने ‘निर्जीवन बीमा कम्पनीका समस्या अलग्गै हाेलान्, हाम्रा समस्या अलग्गै हुन्छन् । जीवन बीमाकाे क्षेत्रमा हामीले खेल्नु पर्ने भूमिका पनि धेरै फरक हुन्छ ।’

सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशबाट शुरु गर्यो घुम्ती बीमा सेवा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको शुरु गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमकाबीच उक्त स्थानबाट सो सेवाको शुरु गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने बताएका छन् । साथै, उनले स्थानिय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य, महत्व र यसबाट हुने फाईदाहरुको सम्बन्धमा प्रकास पार्दै घुम्ती सेवा मार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरेका छन् । समारोह स्थलबाटै केहि बीमालेख समेत जारी गरीएको कम्पनीले जनाएको छ ।