शिखर इन्स्याेरेन्सकाे अटो प्लस याेजनाः पुरानाे गाडी ध्वस्त भए नयाँ पाइने, खल्तीबाट पैसा झिक्न नपर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी ल्याएको छ । नयाँ बीमा पोलिसीमा दावी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, ध्वस्त (पूर्ण क्षति) भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटना पछि मोटर मर्मत गर्न लाग्ने समयअवधिमा बीमितलाई यातायात खर्च दिने सुविधा भएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले बताए । ‘सामान्यतया एउटा कारको बम्पर फेर्नुपर्दा २५/३० हजार रुपैयाँ लाग्छ । ह्रास कट्टीपछि बीमितले १२/१५ हजार रुपैयाँ मात्र पाउने गरेका थिए । शिखर अटो प्लस इन्स्योरेन्स गरेको अवस्थामा ह्रास कट्टी हुँदैन, पुरै रकम भुक्तानी पाउने छन्’ नयाँ बीमा पोलिसी सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने । चल्तीका बीमा पोलिसीमा शिशामा बाहेक सबै पाट्सहरुको ह्रास कट्टी हुन्छ । शिखर अटो प्लसमा कुनै पनि पार्टसमा ह्रास कट्टी नहुने उनले बताए । नयाँ पोलिसीमा पुरानो गाडी पूरै क्षति हुँदा नयाँ गाडी लिन सकिने सुविधा पनि रहेको छ । ‘पुरानो गाडी पूरै क्षति भएमा सवारी धनीलाई दुईटा समस्या हुन्छ । एकातिर बीमाले दिने क्षतिपूर्ति किनेको मूल्य भन्दा कम हुन्छ । अर्कोतिर नयाँ गाडीको मूल्य पहिलाकाे भन्दा बढिसकेको हुन्छ । यस्तो समस्यालाई समाधान गर्ने गरी हामीले शिखर अटो प्लस योजना बनाएका छौं’ पाण्डेले भने । मोटर ग्यारेजमा राखेपछि बीमितलाई यातायातकाे असुविधा हुने गरेकोले त्यस समस्या पनि समाधान गर्ने गरी शिखर अटो प्लस इन्स्योरेन्स ल्याएको उनले बताए । ‘मोटर साइकल धनीलाई दैनिक ५ सय देखि २ हजार रुपैयाँसम्म र चार पाग्रे मोटरको लागि दैनिक १५ सयदेखि ४५ सय रुपैयाँसम्म यातायात खर्च दिन्छौं । यस्तो रकम बीमाङ्कको आधारमा तय हुन्छ’ पाण्डे भन्छन्- ‘यस्तो सुविधा मोटर आंशिक क्षति भएको अवस्थामा १४ दिन र पूर्णक्षति भएको अवस्थामा ३० दिनसम्म दिन्छौं ।’ १४ दिन र ३० दिनको अवधि तोक्दा सेवा छिटाे र प्रभावकारी बनाउने, प्रणालीगत सुधार गर्न सबैलाई दवाव पर्ने र यसले समग्र बजारमा सुधार ल्याउने उनले बताए । १० वर्षभन्दा बढी पुराना गाडीका लागि भने यस्तो सुविधा नहुने उनले बताए । निर्जीवन बीमा बजारको ५० प्रतिशत हिस्सा मोटर बीमाको रहेको, मोटर बीमामा नै कम्पनीहरुले सर्वाधिक दावी भुक्तानी गर्ने गरेको तर मोटर बीमा क्षेत्रमा ग्राहकहरुबाटै बीमा कम्पनीहरुले बीमा बापतको क्षतिपूर्ति कम पाएको गुनासो आइरहेको पृष्ठभूमिमा नयाँ पोलिसी बनाएको र यस पोलिसीले अटो बजारबाट बीमा कम्पनीप्रति आउने गुनासो कम गर्न मद्दत गर्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेकाे भनाई छ । बीमा गरेपछि जति पनि लस हुँदा बीमितले खल्तीबाट पैसा झिक्न नपरोस् र क्यासलेस बीमाको प्रयोग बढोस् भन्ने कम्पनीको चाहाना रहेको उनले बताए । शिखर अटो प्लस इन्स्योरेन्सको पुर्नबीमा सतप्रतिशत नेपाल पुर्नबीमा कम्पनीमा गरिएको जानकारी दिँदै यस बीमामा डलर विदेश नजाने भएकोले देशलाई नै फाइदा भएको उनले बताए । शिखर अटो प्लस इन्स्योरेन्स सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले नयाँ बीमा पोलिसी साँच्चिकै सिर्जनात्मक भएको बताए । अटो बीमामा ८० प्रतिशत बीमा दावी आउने गरेको र सार्वजनिक यातायाततर्फ ९९ प्रतिशत नै बीमा दावी पर्ने गरेको बताउँदै उनले यस्तो बीमा पोलिसीले बजारमा राम्रो प्रभाव पार्ने बताए । उनले कोभिड बीमाको कारण अर्थतन्त्रलाई गतिशील बनाउन धेरै मद्दत गरेको बताए । हास्य कलाकार तथा शिखर इन्स्योरेन्सका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले पनि शिखरको अटो प्लस योजना उपयोगी भएको बताए । ‘सिंहदरवार अगाडि मेरो गाडीमा पछाडिबाट बसले ठक्कर दियो । बीमा दावी गर्दा ४० हजार रुपैयाँ पाएँ । तर त्यो भन्दा बढी खर्च मलाई ट्याक्सीमा हिड्दा भएको थियो’ उनले पुरानो घट्ना स्मरण गर्दै भने- शिखरको अटो प्लस इन्स्योरेन्स पोलिसी लिएमा क्षतिपूर्ति पनि पाइने भयो, ट्याक्सी भाडा पनि पाइने भयो ।’
६० करोडको आईपीओ जारी गरिरहेको प्रभु लाइफमा सेयर हाल्नु कत्तिको उचित ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) विक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपिओमध्ये ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता कर्मचारीको लागि र ३ करोड रुपैयाँ बराबरकै ३ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । त्यसैकारण सर्वसाधारणले भर्न पाउने भनेको ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हो । कम्पनीले जारी गरेको आइपिओ विक्रीको समय छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गते सकिनेछ । यो कम्पनीको सेयर खरिद गर्दा के कस्तो होला भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले यस्ता प्रश्नको निचोडमा पुग्नुअघि कम्पनीका केही परिसुचक हेर्नुपर्ने हुन्छ । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँ हो । यो पुँजीमध्ये संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ हालिसकेका छन् । सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको सेयर छुट्टयाइएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा रहनेछ । कम्पनीले प्रकाशित गरेको विवरणपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ मा प्रतिसेयर नेटवर्थ १००.०६ रुपैयाँ थियो । यस्तै, २०७४/७५ मा १०३.५९ रुपैयाँ र २०७५/७६ मा १०९.५६ रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा १३९.३७ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । आर्थिक वर्ष २०७५/७६ मा कमपनीको प्रतिसेयर आम्दानी ५.८३ रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी १३.१४ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । गत आर्थिक वर्षमा ११ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको संचित आय आर्थिक वर्ष २०७९/८० मा ७१ करोड रुपैयाँभन्दा बढी हुनेछ । वित्तीय दायित्व बहन गर्ने क्षमता औषत कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले बीबीप्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । सो ग्रेडिङ्गको वैधता अवधि एक बर्ष रहनेछ । ऐतिहासिक पृष्ठभूमि यो कम्पनी २०६४ साल असार ८ गते कम्पनी रजिष्टारको कार्यालयमा स्टार लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । कम्पनी रजिष्टारको कार्यालयको मिति २०७४ मंसिर ६ को निर्णयबाट साविकको स्टार लाइफ इन्स्योरेन्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नाम प्रभु लाइफ इन्स्योरन्स लिमिटेडमा सर्ने गरी निर्णय भई प्रभु लाइफ इन्स्योरेन्स कायम भएको हो । कम्पनीलाई बीमा समितिले २०७४ भदौ ७ गते बीमा व्यावसाय कारोवार गर्न इजाजत दिएको थियो । कम्पनीले २०७४ मंसिर २८ गतेदेखि व्यवसायिक कारोवार संचालन गरिरहेको छ । यस कम्पनीको संस्थापकहरु वित्तीय/बैंकिङ्ग, कानून क्षेत्र, ब्यापार व्यवसाय एवम् व्यवस्थापनमा लामो समयदेखि दखल भएका स्थानीय लब्ध प्रतिष्ठित व्यक्ति तथा व्यवसायीहरु रहेका छन् । संचालन भएका सेवाहरु कम्पनीले मिति २०७४ मंसिर २८ देखि विधिवत रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै आएको छ । कम्पनी हाल करिब ३ वर्ष मात्र भएको छ । कम्पनीले सम्बृद्ध (सावधिक) जीवन बीमा योजना, सम्बृद्ध (सावधिक) जीवन बीमा योजना, एकल भुक्तानी-अमुल्य (सावधिक तथा आजीवन) जीवन बीमा योजना, श्रीवृद्घि (सावधिक) जीवन बीमा, जीवन किरण (बाल सावधिक) जीवन बीमा योजना र जीवन उन्नति (बाल अग्रीम भुक्तानी सावधिक) जीवन बीमा योजना संचालन गरिरहेको छ । यस्तै, वैभव (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा योजना, समुन्नति (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा योजना, जीवन स्पर्श आवधिक जीवन बीमा योजना र प्रभु म्यादी जीवन बीमा योजना पनि संचालन गरिरहेको छ । एक वर्षे नवीकरणीय म्यादी जीवन बीमा योजना पछिल्लो समयमा बजारमा ल्याइएका ४ वटा योजनामा समुन्नति (अग्रीम भुक्तानी सावधिक), जीवन स्पर्श आवधिक जीवन बीमा योजना, प्रभु म्यादी जीवन बीमा योजना र एक वर्षे नवीकरणीय म्यादी जीवन बीमा योजना रहेका छन् । गत आर्थिक वर्ष २०७६/७७ को बीमा व्यवसायमा सावधिक जीवन बीमा सम्बन्धी योजनाहरुको अंश करिब ६८ प्रतिशत, अग्रीम भुक्तानी सम्बन्धी योजनाहरुको अंश १० प्रतिशत र अन्य योजनाहरुको २२ प्रतिशत रहेको छ । कम्पनीले बजारको माग अनुरुप कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा नै जोड दिइएको छ । वित्तीय अवस्था हालको प्रतिस्पर्धी बीमा बजारमा कारोवार शुरु भएको छोटो अवधिमा पनि कम्पनीको व्यवसायिक तथा वित्तीय अवस्था संतोषजनक रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ११ करोड ४४ लाख रुपैयाँ, आ.व. २०७५/७६ मा ४७ करोड ३८ लाख रुपैयाँ र आ.व. २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा करिब १५३ प्रतिशतले बढेर रु. १ अर्ब १९ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गर्न सफल भएको थियो । गत आर्थिक वर्षमा २०७६/७७ मा कम्पनीको बजार हिस्सा पनि अघिल्ला वर्षहरुको तुलनामा बढेर करिब १.३ प्रतिशत पुगेको छ । पछि स्थापना भएका नयाँ १० कम्पनीहरुसंगको तुलनामा यस्तो हिस्सा करिब ७ प्रतिशत रहेको छ । मुलुकको अर्थतन्त्रमा विविध उतार चढाव हुँदाहुँदै पनि यस कम्पनीले अवलम्वन गरेको व्यवसायिक रणनीति, संस्थागत सुशासन, पारदर्शिता तथा उच्चस्तरको ग्राहकमुखी प्राविधिक सेवा एवम्सक्षम व्यवसायिक समूहको संलग्नता समेतले गर्दा आफ्नो स्थापनाको छोटो अवधिमा संतोषजनक प्रगति गर्न कम्पनी सफल भएको र आगामी दिनहरुमा समेत स्वस्थ्य प्रतिस्पर्धात्मक ढंगबाट बीमा व्यवसाय बढाउंदै लैजान कम्पनी प्रतिबद्ध रहेको विवरणपत्रमा उल्लेख छ । भावी योजना नेपालमा बीमा व्यवसायको विकास गर्न बीमा सम्वन्धी जनचेतना अभिवृद्धि गरी हरेक क्षेत्रमा बीमा प्रति आकर्षित गर्दै देशको बीमा क्षेत्रमा सर्वसाधारण, उद्योगी, व्यापारी एवम् विभिन्न संघ सस्ंथाहरुसम्ममा बीमा प्रणाली मार्फत सरल, सुलभ र छिटो-छरितो तरिकाबाट भरपर्दो एवम् गुणस्तरीय बीमा सेवा प्रदान गर्ने तथा निकट भविष्यमा ग्रामीण समुदायसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा थप सेवा विस्तार गर्दै जाने यस कम्पनीको योजना रहेको छ । जीवन बीमा सेवालाई समाजका हरेक तह र तप्काका मानिसहरुसम्म विस्तार गर्न उपयुक्त बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कार्यमा प्रयासरत रहने । लगानी विविधिकरण गरी औसत आय वृद्धि गर्न तथा बीमितहरुको प्रतिफल वृद्धि गर्न प्रयासरत रहने । – लघु बीमा योजनाको माध्यमबाट आम मानिसमा बीमा सेवा पुर्याउने । – अन्तर्राष्ट्रिय बजार समेतलाई दृष्तिगत गरी नयाँ बीमा योजनाहरु तर्जुमा गर्दै लैजाने । – कम्पनीको सूचना प्रविधिको बिकास र बिस्तारलाई थप तीब्रता दिई कार्यक्षमता र सुरक्षामा वृद्धि गर्ने । – बीमितको सेवा प्रणालीमा गुणात्मक वृद्धि गर्न दावी भुक्तानी प्रकृयामा सरलीकरण एवम् नवीकरण बीमाशुल्क भुक्तानीको सहज व्यवस्थाका लागि थप बैंकहरुसंग सहकार्य गर्ने तथा विद्युतीय भुक्तानी संयन्त्रमा जोड दिने । कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने । – नयाँ बीमा कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुन सक्ने जोखिमहरु, बीमा कम्पनीले प्रदान गरेको तथा भविष्यमा प्रदान गरिने बीमा सेवाबाट हुन सक्ने जोखिम, देशको राजनैतिक परिस्थितिबाट आउन सक्ने जोखिमहरु, देशको आर्थिक अवस्थामा आउने उतार-चढावबाट हुन सक्ने जोखिमहरु, नेपाल सरकारको आर्थिक नीति तथा नियामक निकायबाट जारी हुने निर्देशनमा हुने परिवर्तनबाट सिर्जना हुन सक्ने जोखिमहरु, बीमा बजारको अवस्थामा आउने उतार-चढावबाट पर्न सक्ने जोखिमहरु, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपालको बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु, देशको मौद्रिक नीति लगायत नेपाल राष्ट्र बैंक तथा बीमा समितिले जारी गर्ने नीति, नियम र निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु लगायत सम्पूर्ण जोखिमहरुको गहन अध्ययन र विश्लेषण गरी उक्त जोखिमहरु न्युनीकरण गर्दै जाने रणनीति रहेको छ । कम्पनीकाे शाखा तथा उपशाखाहरू संचालक समिति कम्पनीमा एक महिला सहित ७ जनाको संचालक समिति हुनेछ । सो समितिको समूहगत प्रतिनिधित्व देहाय बमोजिम हुनेछ समूह क संस्थापक समूहका शेयरधनीबाट निर्वाचित ४ जना, समूह ख सर्वसाधारण समूहका शेयरधनीबाट निर्वाचित २ जना र स्वतन्त्र संचालक १ जना सञ्चालक रहने छन् । संचालकहरुको कार्यकाल ४ वर्षको हुनेछ । जोखिम धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्कासन मूल्यले सूचीकरण पश्चात् धितोपत्र बजारमा हुने कारोबार मुल्य नजनाउने हुँदा कम्पनीको विवरणपत्रमा उल्लेखित जोखिमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिनु हुन सम्पूर्ण लगानीकर्तामा सुझाव गरिन्छ । सम्बन्धित समाचार प्रभु लाइफका २२२ कर्मचारीलाई ३ करोडको आइपिओ, कसले कति कित्ता पाउँछन् ?
प्राइम लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क घरबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकावीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएस लगायतको सेवाको लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई तथा एनसीएचएलका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यो सेवा संगै अब बीमितहरुले घरमै बसी बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवासंगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसी अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।