ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ खुल्यो, यस्तो छ कम्पनीको अवस्था

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (फागुन २१ गते) शुक्रबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेकाे हाे । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता जारी गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन भएकाे उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम, सातवटै प्रदेशमा दिने तयारी

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले कर्मचारीलाई आज (फागुन २० गते) काठमाडौंको लेण्डमार्क होटलमा उक्त तालिम दिएको हो । वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैरकानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा कर्मचारीलाई तालिम दिएकी थिइन् । उक्त कार्यक्रममा प्रदेश नं.३ का सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । त्यस्तै, आजै सञ्चालित हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम सञ्चालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ । कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसैगरी, यो तालिम क्रमश अभिकर्तालाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीले जानकारी गराएको छ ।

सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुको ४८ अर्ब ३३ करोड लगानी, कसको कति ?

काठमाडौं । पुँजी बजारका संस्थागत लगानीकर्तामध्ये बीमा कम्पनीहरु एक प्रमुख हुन् । कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको रकम नियामक निकायले तोकेको सीमामा रहेर पुँजी बजारका विभिन्न औजारहरुमा लगानी गर्ने गरेका हुन्छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार अहिले संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयर तथा बैंक वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा गरी ४८ अर्ब ३३ करोड ४५ लाख १२ हजार रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा व्यवसाय गर्ने कम्पनी मेट लाइफले भने यी दुबै क्षेत्रमा लगानी गरेको छैन । जीवन बीमा कम्पनीहरुले यी दुबै क्षेत्रमा गरेको लगानीमध्ये सूचीकृत पब्लिक कम्पनीहरुको सधारण सेयरमा १७ अर्ब ७२ करोड १२ लाख १२ हजार रुपैयाँ र वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा ३० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले गरेको यो लगानी चालु आर्थिक वर्षको दोस्रो त्रैमास (गत पुस मसान्त) सम्मको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ । संस्थानले गत पुस मसान्तसम्ममा ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्ने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै, लाइफ कर्पाेरेसन नेपालले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ ।