बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द, बैंक वित्तीय संस्था के हुन्छन् ?

काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने छन् ।  बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने । सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने । बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा वृद्धि

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छछ । साथै, कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५.९३ प्रतिशतले बढ्यो

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफामा ३३५.९३ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड २१ रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ५ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको हो । नाफासँगै खुद बीमाशुल्क पनि ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त शुल्क २४ करोड ७१ लाख रुपैयाँ मात्रै थियो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ । त्यस्तै, इन्स्योरेन्सले यस अवधिसम्ममा १ लाख ८ हजार १०८ वटा बीमालेख जारी गरि ८७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै, कम्पनीले ३ हजार २९१ वटा दाबी बापत ४० करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ४ हजार ६८३ वटा दाबी बापत ६९ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।