सिद्धार्थ प्रिमियरको बीमा कोष ११.१५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आवको ९ महिनामा कम्पनीको खुद नाफा ९१.१५ प्रतिशत कम हो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३० करोड ६ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ४ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले १ अर्ब २७ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ९२ करोड ९५ लाख ६५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा कम्पनीले २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कुद खर्च गरेको थियो । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चैत मसान्तसम्म निर्जीवन बीमा कोष ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै ३३ करोड २७ लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम छ ।
फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हट्यो
काठमाडौं । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हटेको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा तेस्रो संशोधन गर्दै दफा (४)को उपदफा (६) र (७)मा रहेको प्रावधान हटाएको हो । यसअघि निर्देशिकाको दफा (४)को उपदफा (६) मा बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको थियो । संशोधित निर्देशिकामार्फत पुनर्बीमकले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्य गर्न सक्ने (४)को उपदफा (७) मा प्रावधान पनि हटाइएको छ । यसअघि स्वदेशी पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई २४ घन्टाभित्र जबाफ पठाउनुपर्ने व्यवस्था पनि थियो । प्राधिकरणले निर्देशिकाको दफा ८ मा रहेको पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्ने प्रावधानमा पनि संशोधन गरेको छ । अब बीमकले निर्देशिकाको दफा (७) को उपदफा (१) को अधीनमा रही ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) स्वेदशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ । दफा (७) को उपदफा (१) भएको व्यवस्था हिस्सा प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । त्यस्तै बीमा कम्पनीले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमाबाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमै सतप्रतिशत पुनर्बीमा गर्नुपर्नेछ । प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ । संशोधनमार्फत अब यो निर्देशनलाई पुनर्बीमक (तेस्रो संशोधन) निर्देशिका, २०८३ भनिनेछ।
पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनी प्राधिकरणको कारबाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनीलाई जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले पुनर्बीमा दलालको सेवा दिंदै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि र निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीलाई कारबाही गरेका हाे । प्राधिकरणका प्रवक्ता पुजन ढंगेलका अनुसार सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) को विपरीत कार्य गरेकाले जरिवाना गरिएको छ । उक्त कम्पनीलाई प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम पहिलो पटक दुई लाख रूपैयाँ जरिवाना गरेको छ । त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्सलाई पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेको पाइएकाले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम जरिवाना गरिएको छ । कम्पनीलाई पहिलो पटक भएकाले पाँच हजार रूपैयाँ नगद जरिवाना सहित सचेत गराएको प्रवक्ता ढंगेलले बताइन् ।