जीवन बीमा कोषमा नेपाल लाइफ दोब्बरले बलियो, रिलायबलको ७८ प्रतिशत बढ्दा अन्यको कति ?

काठमाडौं । जीवन बीमा कोषको आधारमा नेपाल लाइफ इन्स्योरेन्स नम्बर वान बन्न सफल भएको छ । २० वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ यो कोषमा करिब दोब्बर रकमले अग्रस्थानमा देखिएको हो । कम्पनीहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकारमा नेपाल लाइफ पहिलो स्थानमा छ भने दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । यी दुई कम्पनीको जीवन बीमा कोषको आकारमा करिब ८० अर्ब रुपैयाँ बढीको अन्तर देखिएको छ । कम्पनीले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार नेपाल लाइफको उक्त कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ बढी छ । जबकी अन्य कम्पनीको उक्त कोषमा खर्बभन्दा तल छ भने दोश्रोमा रहेको लाइफ इन्स्योरेन्स कम्पनीको कोषमा ९३ अर्ब ६३ खर्ब रुपैयाँ सञ्चित छ । गत आवमा नाफा घटाएको नेपाल लाइफले जीवन बीमा कोषको आकार भने २१.५८ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष कम्पनीको यो कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ थियो । समग्रमा १९ जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार कूल ४ खर्ब ६५ अर्ब रुपैयाँ बढीको छ । जुन अघिल्लो आवको तुलनामा औषत २१.३९ प्रतिशतले बढी हो । उक्त रकम अघिल्लो आवमा ३ खर्ब ८३ अर्ब रुपैयाँ थियो । प्रतिशतको आधारमा रिलायबल लाइफको जीवन बीमा कोषको आधार सर्वाधिक बढेको छ । एक वर्षमा कम्पनीको कोषको आकार ७८.१३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा हाल ४ अर्ब ६० करोड रुपैयाँ बढी सञ्चित छ । कुन कम्पनी कति बलियो ? त्यस्तै, सबैभन्दा कम जीवन बीमा कोष हुनेमा महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको उक्त कोषमा २ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ । जुन अन्य कम्पनीको तुलनामा कम भएपनि अघिल्लो वर्षको तुलनामा भने २२.२६ प्रतिशतले बढी हो । के हो बीमा कोष ? बीमा कम्पनीहरुले प्रत्येक बीमा व्यवसायको छुट्टाछुट्टै कोष राख्नु पर्ने व्यवस्था छ । र बीमा व्यवसायबाट प्राप्त रकम सम्बन्धित कोषमा जम्मा गर्नु पर्नेछ । तर एउटा बीमा व्यवसायको लागि राखिएको कोषबाट अर्को बीमा व्यवसाय सम्बन्धी दायित्व व्यहोर्न नपाइने समेत व्यवस्था छ । कम्पनीहरुको कोषमा जति बढी रकम हुन्छ, त्यति नै बलियो मानिन्छ ।

नेकोले सर्वाधिक कमाउँदा सानिमा जनरलले ९८% ले बढायो नाफा, बीमा कोषमा जनरल एग्रेसिभ

काठमाडौं । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीले कूल ४ अर्ब ९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ८.०६ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आवमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा ४ वटा कम्पनीको नाफा घटेको छ । जसमा सगरमाथाको ८.७१, प्रिमियरको ३.५४, लुम्बिनी जनरलको २३.२२ र हिमालयन एभरेष्टको ५९.६१ प्रतिशतले नाफा घटेको छ । बाँकी सबै कम्पनीको अघिल्लो आवको तुलनामा नाफा बढेको देखिन्छ । सबैभन्दा बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स अगाडि देखिएको छ । नेकोले एक वर्षको अवधिमा ५५ करोड १ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो आवमा ५० करोड ४५ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले एक वर्षमा ९.०३ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै, बढी नाफा कमाउनेको दोश्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ३१.४१ प्रतिशतले नाफा बढाएर ४७ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । रकमको आधारमा तेश्रोमा रहेको सगरमाथा अघिल्लो आवको तुलनामा ८.७१ प्रतिशतले घटी हो । अधिकांश स्थानमा शीर्ष स्थानमा हुने शिखर इन्स्योरेन्स नाफाको आधारमा चौथो स्थानमा देखिएको छ । अघिल्लो आवको तुलनामा शिखरको नाफा २८.९३ प्रतिशत बढेर ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी एग्रेसिभ सानिमा जनरल देखिएको छ । सानिमा जनरलले एक वर्षको अवधिमा ९८.६४ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवमा ७ करोड २९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको इन्स्योरेन्सले गत आवमा १४ करोड ४९ लाख रुपैयाँ कमाएको छ । कुनको कति ? (सूचीसहित) यससँगै अघिल्लो आवमा सबैभन्दा कम नाफा कमाउनेको सूचीमा परेको सानिमा जनरल अहिले १६ कम्पनीमध्ये ४ वटालाई उछिन्न सफल भएको देखिन्छ । १६ कम्पनीमध्ये सबैभन्दा कम नाफा हिमालयन एभरेष्ट इन्स्योरेन्सको छ । बीमा क्षेत्रमै पहिलो मर्जरमा गई एकीकृत कारोबार गरेको यो कम्पनीले गत असारसम्ममा ७ करोड ५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । बीमा कोष बढाउन जनरल इन्स्योरेन्स एग्रेशिभ समीक्षा अवधिमा १६ निर्जीवन बीमा कम्पनीको बीमा कोषको आकार १४ अर्ब २ करोड रुपैयाँ बढी छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा यी १६ कम्पनीको बीमा कोषको आकार कूल ११ अर्ब ९१ करोड रुपैयाँ थियो । बीमाकोषको आधारमा सबैभन्दा बलियो सरकारी कम्पनी अर्थातर राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले उक्त कोषको आकार ९.७४ प्रतिशतले बढाई २ अर्ब ६६ करोड रुपैयाँ बढी पुर्याएको छ । त्यस्तै, शिखरको १ अर्ब ४१ करोड, नेकोको १ अर्ब ३७ करोड र सगरमाथाको १ अर्ब २२ करोड रुपैयाँ बढी बीमा कोषमा सञ्चित छ । जुन प्रतिशतको आधारमा क्रमशः १६.५८, २५.०२ र १७.८९ प्रतिशतले बढी हो । कुनको कति ? (सूचीसहित) त्यसैगरी, एग्रेसिभ रुपमा कोषको आकार बढाउनेमा जनरल इन्योरेन्स देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा १४२.५७ प्रतिशतले बीमा कोष बढाई २४ करोड ६५ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित थियो । त्यस्तै, सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । २०७९ असारसम्म कम्पनीको कोषमा १६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । जुन २०७८ असारसम्मको तुलनामा ७७.१८ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीको कोषको आकार ९ करोड २७ लाख रुपैयाँ थियो ।

यूनाइटेड इन्स्योरेन्सको वित्तीय सूचक सन्तोषजनक, व्यवसायसँगै ३५% ले बढायो नाफा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत आवमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८१ प्रतिशतले बढी हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १० करोड रुपैयाँ थियो । बीमाशुल्क निरन्तर बढ्दै गएकोले कम्पनीले आगामी दिनमा नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । त्यस्तै, खुद नाफा पनि ३२.५९ प्रतिशतले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ५२ लाख रुपैयाँ थियो । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७७, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०३.०१ रुपैयाँ छ । त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ३५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको उक्त कोषमा गत आवमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोष बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । हालसम्म इन्स्योरेन्सले १ लाख ३७ हजार बढी बीमालेख जारी गरेको छ भने १५ हजार ५६५ वटा नविकरण गर्न सफल भएको छ । त्यसैगरी, कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ बराबरको ४ हजार ५१९ वटा दावी भुक्तानी गरेको छ । हालसम्म ७ ह जार ३२४ वटा दावीबाट ९५ करोड ५५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।