प्रिमियममा राष्ट्रिय बीमा संस्थान आक्रामक, ज्योति र गुराँसबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा

काठमाडौं । जीवन बीमा व्यवसाय एक महिनामै १४ प्रतिशत बढीले घटेको छ । बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले गत असारको तुलनामा साउनमा १४.८२ प्रतिशतले प्रिमियम घटाएका हुन् । १९ जीवन बीमा कम्पनीले साउन महिनामा मात्रै १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा २ अर्ब ६१ करोड रुपैयाँले घटी हो । गत असारमा कम्पनीहरुले १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । समीक्षा अवधिमा ४ कम्पनीबाहेक सबै जीवन बीमा कम्पनीको प्रिमियम घटेको छ । प्रिमियम बढाउनेमा राष्ट्रिय बीमा संस्थान आक्रामक देखिएको छ । सरकारको स्वामित्व रहेको संस्थानले एक महिनामै ३०.४८ प्रतिशतले बीमाशुल्क बढाएर ५० करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन प्रतिशतको आधारमा सर्वाधिक हो । त्यस्तै, गुराँस लाइफले १६.०८ प्रतिशत, मेट लाइफले ७.६१ प्रतिशत र नेपाल लाइफले १.८९ प्रतिशतले बीमाशुल्क बढाएका छन् भने बाँकी सबैको घटेको हो । प्रतिशतको आधारमा सबैभन्दा बढी घटाउनेमा प्रभु लाइफ छ । प्रभु लाइफले एक महिनामा ५७.७३ प्रतिशतले प्रिमियम घटाएर २३ करोड ४४ लाख रुपैयाँमा सीमित देखिएको छ । यता रकमको आधारमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा छ भने कम प्रिमियम संकलन गर्नेमा महालक्ष्मी लाइफ रहेको छ । नेपाल लाइफले ४ अर्ब ७७ करोड र महालक्ष्मी लाइफले १६ करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, ज्योति र गुराँस लाइफबीच दह्रो टक्कर देखिएको छ । ज्योतिले ४० करोड ३८ लाख र गुराँसले ४० करोड ३७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर गत महिनाको तुलनामा ज्योतिको बीमाशुल्कदर घट्दो छ भने गुराँसको भने बढ्दो छ । कुनले बढाए कुनले घटाए ?

भाडा बस्न घर खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यी १९ ठाउँमा आवश्यक

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले देशभरिका विभिन्न स्थानमा घरबहालमा लिने भएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशन गरि उपत्यका र उपत्यकाबाहिर गरि १९ वटा ठाउँमा घरबहालमा लिने बताएको हो । कम्पनीले काठमाडौं उपत्यकाभित्र चाबहिल चोकदेखि चुचेपाटीसम्म, सूर्यबिनायक/जगते/कमलबिनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म र सामाखुसी चोकदेखि गोगंबुसम्म रहेका घर बहालमा लिने भएको छ । यस्तै, उपत्यका बाहिर झापाको काकडभिट्टा, मोरङ्गको पथरी, सुनसरीको दुहबी, बाराको कलैया र निजगढ, परासीको परासी बजार, दाङको तुलसिपुर, बाँकेको कोहलपुर, सुर्खेतको छिन्चुर, कैलालीको लम्की, अत्तरीया, कास्कीको लेखनाथ, चितवनको पर्सा, धनुषाको महेन्द्रनगर र बाँकेको नेपालगंजमा घरबहालमा लिने जनाएको छ । कम्पनीले माथि उल्लेखित स्थानमा कार्यालय सञ्चालनको लागि ५ सयदेखि १ हजार वर्ग फिट सम्मको क्षेत्रफल भएको कार्य स्थल र भवन बहालमा आवश्यक परेको सूचनामा उल्लेख गरेको छ । घरबहालमा दिन इच्ुछुकले १५ दिन भित्र कम्पनीको कार्यालयमा शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

जीवन बीमाको ८ अर्ब सेयरमा लगानी, महालक्ष्मी र सन नेपाल लाइफ बने आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ बराबरको रकम सेयरमा लगानी गरेका छन् । १८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । मेटलाइफ बाहेक बाँकी कम्पनीले एक वर्षमा सो मात्राको लगानी गरेका हुन् । जसमध्ये महालक्ष्मी र सन नेपाल लाइफ आक्रामक देखिएका छन् । महालक्ष्मी लाइफले पछिल्लो एक वर्र्षको अवधिमा ४२८.१९ प्रतिशत बढी लगानी सूचीकृत कम्पनीको साधारण सेयरमा गरेको छ । अघिल्लो आवमा ९७ लाख ५३ हजार रुपैयाँ मात्रै लगानी गरेको महालक्ष्मीले गत आवमा ५ करोड १५ लाख १४ हजार रुपैयाँ लगानी गरेको समितिले जानकारी गराएको छ । त्यस्तै, प्रतिशतको आधारमा बढी लगानी वृद्धि गर्नेको दोश्रो स्थानमा सन नेपाल लाइफ छ । सन नेपाल लाइफले गत आवमा ३६ करोड ३० लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१३.२७ प्रतिशत बढी हो । समग्रमा जीवन बीमा कम्पनीले गत आवमा सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी अघिल्लो वर्षको तुलनामा भने ३७.२१ प्रतिशत घटी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १२ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए । रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले गत आवमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने २७.१० प्रतिशतले घटी हो । त्यस्तै, १८ कम्पनीमध्ये ९ कम्पनीको लगानी वृद्धिदर बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा बढी घटाउनेमा गुराँस लाइफ छ । गुराँस लाइफले एक वर्षमा ८७.६१ प्रतिशत लगानी सेयर बजारबाट झिकेको छ । सेयरमा लगानी बढाउनेमा महालक्ष्मी र सन नेपाल लाइफसहित प्राइम लाइफ, यूनियन लाइफ, प्रभु लाइफ, सूर्या लाइफ, रिलायबल लाइफ, ज्योति र सानिमा लाइफ रहेका छन् । कुनले कति बढाए ?