नेपाल लाइफको २५औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर, ११०० बढी लाभान्वित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यी कार्यक्रमबाट एक हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कम्पनीले वैशाख २१ र २२ गते काठमाडौंस्थित प्रधान कार्यालय परिसरमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क रूपमा गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। दुई दिने उक्त शिविरबाट कुल ६०१ जनाले सेवा लिएका छन् । यसैगरी, कम्पनीले देशका सातै प्रदेशका १३ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । यसरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ । ‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो । कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको र २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको जनाएको छ । देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अध्यक्ष, सञ्चालकहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा नियामक निकायलगायत सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै सहयोग, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।
एशियन लाइफको नयाँ बीमा योजना : अंगभंग भएमा प्रिमियम छुट र वार्षिक १०५ आयको ग्यारेन्टी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । प्रधान कार्यालयमा मंगलबार सार्वजनिक गरिएको यस बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको छ । यी सुविधाको लागि बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्दैन । यसबाहेक बीमा अवधिभित्र दुर्घटनाको कारण बीमितलाई स्थायी अंगभंग भएमा बाँकी अवधिको बीमाशुल्क छुटसँगै जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्ककको १० प्रतिशतका दरले वार्षिक आय लाभवापतको रकम प्रदान गरिनेछ । साथै बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्नेछन् । यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधासमेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ । ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।
अब सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा
काठमाडौं । सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमालाई अनिवार्य गर्ने भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’मार्फत बीमा ऐनलाई संशोधन गर्दै सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमासम्बन्धी व्यवस्था गरेको हो । सरकारले सरकारले बीमा ऐन २०७९ लाई संशोधन गर्दै ऐनको दफा ७२ पछि ७२ क थपेर सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा ‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ,’ भनिएको छ । ध्यादेश’मार्फत बीमा ऐनलाई संशोधन गरेर याे व्यवस्था जारी भएसँगैबीमाको नियामक नेपाल बीमा प्राधिकरणले गरेको व्यवस्थाअनुसार सार्वजनिक पूर्वाधार निर्माणको बीमासम्बन्धी अन्य कानुन र मापदण्डहरू बनाउने प्राधिकरणका प्रवक्ता पुजन ढुगेलले बताइन् । ‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी कानुन निर्देशिका बनाएर बीमा हुनेछ,’ उनले भनिन् । नेपालमा हालसम्म सार्वजनिक सम्पत्तिको बीमा अनिवार्य गर्ने व्यवस्था छैन । बीमा नहुँदा सरकारी सम्पत्तिमा हुने क्षतिको सम्पूर्ण भार राज्यले नै वहन गर्दै आएको छ। सार्वजनिक सम्पत्तिको बीमा अनिवार्य गरिएमा सरकारमाथि पर्ने ठूलो आर्थिक दायित्व उल्लेखनीय रूपमा घट्ने अपेक्षा लिइएकाे छ ।