हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स केही कर्मचारी मागेको छ । कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको हो । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो । त्यस्तै, कर्णाली प्रदेशका एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । प्रदेश हेड पदका लागि स्नातक तह उतिर्ण गरी निर्जीवन बीमा क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । त्यस्तै, एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि भने प्लस टु अध्ययन गरिसकेको हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित
काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो । उनीहरुले आफ्नो जीवनको अमूल्य समय कम्पनीको सेवामा समर्पित गरेको भन्दै इन्स्योरेन्सले २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । इन्स्योरेन्सले असोज ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखी ७६ वर्षभन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएको बताए । साथै, उनले आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता गरे । त्यस्तै, कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले यो अवधिमा सहगोग पुर्याउने सबै सरोकारवालाहरुमा आभार व्यक्त गरे । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राखेको कम्पनीको भनाई छ । सञ्चालन भएको ७६ वर्षमा कम्पनी आफ्ना ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको छ । हाल कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा सञ्जाललाई विस्तार गरी कम्पनीका सम्पूर्ण काम कारवाहीलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको इन्स्योरेन्सले बताएको छ ।
बीमा सर्भेयरको परीक्षामा १५ जना पास, क-कसले पाउने भए लाइसेन्स ?
काठमाडौं । बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता)को परीक्षामा १५ जना पास भएका छन् । नेपाल बीमा प्राधिकरणले लिएको अनलाईन परीक्षामा सहभागीमध्ये १५ जना उत्तीर्ण भएका हुन् । यससँगै उत्तीर्ण सबैले बीमा सर्भेयरको लाइसेन्स पाउने भएका छन् । उत्तीर्ण हुनेमा मिलन सिग्देल, अशेष घिमिरे, भिम्सेन चन्द्र आचार्य, अशिम गुरागाईं, विश्वास थापा, राम बहादुर श्रेष्ठ, मोहन गौतम, निकेश गौतम, विकास कुमार रोशन, अजय केशी, ललित भाट, चूडामणी सुवेदी, नविन कुमार श्रेष्ठ, प्रविण कार्की र राजन थापा रहेका छन् । यी सबैले प्राधिकरणले योभन्दा पहिलो पटक दिएको सर्भेयरको तालिममा भाग लिएका थिए । तर परीक्षा भने तोकिएको समयमा दिन सकेका थिएनन् । प्राधिकरणले गत असोज २ गते अनलाइनबाट उक्त परीक्षा सञ्चालन गरेको थियो । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित भएको परीक्षामा भाग लिन प्राधिकरणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सबमिट गरेका प्राधिकरणले जानकारी गराएको छ ।