ट्राफिक चेकिङमा बीमा गरेको छ कि छैन भनेर पनि चेक गर्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबैको पहुँचमा बीमा पुर्‍याउनका लागि यस्तो गर्न आवश्यक रहेको बताएका हुन् । उनले सबै ठाउँ तथा व्यक्तिमाझ बीमाको पहुँच पुर्‍याउनुपर्ने बताउँदै ट्राफिक चेकिङमा बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने नीति बनाउनुपर्ने बताए । ‘नसक्नेको बीमा गराइदिनु पर्यो, सक्नेले आफैं बीमा गर्छन्, गाडी चलाउँदा चालकको लाइसेन्स र ब्लूबुक होइन, अब बीमा गरेको छ कि छैन भनेर चेक गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले प्राधिकरण बीमा दाबी भुक्तानीमा सन्तुष्ट नभएको पनि बताएका छन् । उनका अनुसार अहिलेको दाबी भुक्तानी राम्रो भए पनि प्राधिकरण तथ्यांकमा अझै सन्तुष्ट हुन सकेको छैन । उनले सबैको पहुँचमा बीमा पुर्‍याउन कम्पनीहरूले गरिबले पनि बीमा गर्नसक्ने प्रडक्ट ल्याउनुपर्ने बताए । स्थानीय सरकारले बीमा गराउनेभन्दा पनि बीमा गराउन जोड दिनुपर्ने उनको राय छ ।

व्यवसाय विस्तारमा आक्रामक बन्यो राष्ट्रिय जीवन बीमा कम्पनी, नाफामा हिमालयनको अग्रता

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ नाफा गरेका हुन् । गत वर्षको असोजमा यी कम्पनीहरुले १ अर्ब २५ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले खुद नाफा ३६.६३ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । गत असोजसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यस कम्पनीले १०४० प्रतिशत नाफा वृद्धि गरेर ४ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सुर्याज्योति लाइफले ३६३.३१ प्रतिशत बढाएर १३ करोड २१ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, सानीमा रिलायन्स लाइफको १२८.३७ प्रतिशत बढेर ११ करोड ८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको ८८.५४ प्रतिशत बढेर ५ करोड ९७ लाख रुपैयाँ, आइएमई लाइफको ७६.२० प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५३.६२ प्रतिशत बढेर १० करोड रुपैयाँ र हिमालयन लाइफको ३५.३७ प्रतिशत बढेर २४ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, सन नेपाल लाइफको ३०.८० प्रतिशत बढेर १६ करोड ५३ लाख रुपैयाँ, एशियन लाइफको १४.९६ प्रतिशत बढेर १६ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफको १०.२४ प्रतिशत बढेर १५ करोड ७९ लाख रुपैयाँ, मेट लाइफको ४.८८ प्रतिशत बढेर ९ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफको १.५९ प्रतिशत बढेर ७ करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १.०१ प्रतिशत बढेर ११ करोड ९४ लाख रुपैयाँ र नेशनल लाइफको ०.२४ प्रतिशत बढेर १३ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले कमाए साढे १० अर्ब बीमा शुल्क, सलिको, सिद्धार्थ प्रिमियर र शिखरको १ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीबीच कुल बीमा शुल्क आर्जनमा कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ती कम्पनीले तीन महिनामा १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । तीन महिनाको अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सले ५९ करोड ९४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।