पाँच महिनामा सलिकोले गर्याे २ अर्बको व्यवसाय, आधा दर्जन कम्पनी अझै पुगेनन् अर्ब क्लबमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को ५ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार मंसिरसम्म १४ वटा बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ वटा बीमा पोलिसी बिक्री गरेर १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले २ अर्ब बराबरको व्यवसाय गरेको छ । कम्पनीले १ लाख २२ हजार ६९३ बीमा पोलिसी बिक्री गरेर १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख २८ हजार ३८९ बीमा लेख जारी गरेर १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स १ लाख २२ हजार ६७८ बीमा लेखबापत १ अर्ब ५७ करोड ७६ हजार रुपैयाँ संकलन गरेको हो । हिमालयन एभरेष्टले १ लाख १ हजार २३३ बीमालेख जारी गरेर १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ९९ हजार ७५९ बीमालेख जारी गरेर १ अर्ब ३८ करोड १२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ लाख २८ हजार ६४२ बीमालेख बिक्री गरेर १ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, यूनाइटेड अजोडले ८७ लाख ५६५ बीमालेखवापत् १ अर्ब ७ करोड १२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले८२ हजार ८९८ बीमालेख बिक्री गरेर १ अर्ब १ करोड ६४ लाख रुपैयाँ, सानिमा जिआइसीले ६३ हजार २४९ बीमालेख बिक्री गरेर ९६ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, प्रभु इन्स्योरेन्सले ४७ हजार २४९ बीमालेख जारी गरेर ८४ करोड १४ लाख रुपैयाँ, दि.ओरिएण्टलले १७ हजार ९८ बीमालेख वापत् ७२ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६६ हजार ६६४ बीमालेख बिक्री गरेर ६२ करोड ६१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ हजार २१९ बीमालेख बिक्री गरेर ६१ करोड ९१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १४ हजार ९२३ बीमालेख बिक्री गरेर ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब ६४ करोड
काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख रुपैयाँ छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४१ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले भूकम्पपीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ प्रदान गरिएकोमा सो को अनुमोदन गर्ने प्रस्तावलाई पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८० साल कार्तिक १७ गते जाजरकोटको बारेकोट गाँउपालिका वडा नं ०१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत राहत स्वरुप उक्त रकम दिएको थियो ।
नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि करण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित कम्पनीले सीआईटीको सेयर बिक्री गर्न लागेको हो । इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार नागरिक लगानी कोषले हालसम्म वितरण गरेको बोनस सेयरलाई बिक्री गर्ने योजना बनाएको हो । सीआईटीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक प्रिमियर इन्स्योरेन्स)को १.२४ प्रतिशत सेयर स्वामित्व छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीआईटीले वितरण गरेको बोनस सेयरसहित करिब ५ लाख कित्ता सेयर स्वामित्व रहेको छ । जसमध्ये करिब २ लाख कित्ता सेयर बिक्री गर्ने योजना कम्पनीले बनाएको स्रोतको भनाइ छ । कम्पनीले सीआईटीको संस्थापक सेयर बेच्न लागेको हो । संस्थापक सेयर बजार मूल्यको झण्डै आधा मूल्यमा कारोबार हुने गरेको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीआईटीको सेयर मूल्य प्रतिकित्ता २ हजार १९० रुपैयाँ किनबेच भएको छ । सो मूल्यका आधामा बिक्री गर्दा उक्त संस्थापक सेयर प्रतिकित्ता करिव ११ सय रुपैयाँमा कारोबार हुन सक्छ । कम्पनीले बिक्री गर्न लागेको उक्त सेयर कम्पनीले मात्रै खरिद गर्न पाउँछ । कम्पनीले सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले सबै सेयर बिक्री गरेर सीआईटीबाट बाहिरिने योजना बनाएको थियो । तर, एकैपटक महँगो मूल्यमा सेयर बिक्री नहुने भएपछि किस्ता किस्तामा लिलामीमा बिक्री गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट कम्पनीले सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो । साथै, प्रिमियम मूल्यमा एफपीओ र हकप्रद सेयर बिक्रीबाट भएको आम्दानीमा कर तिर्नु परेपछि कम्पनीले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको जनाएको छ ।