हिमालयन रि इन्स्योरेन्सको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर सोमबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०३.०७ रुपैयाँ र अधिकतम ३०९.२१ रुपैयाँ तोकेको छ । कम्पनीको सेयर कारोबारको लागि सिम्बोल ‘एचआरएल’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि उनलाई कम्पनीको सीईओमा नियुक्त  गरिको कम्पनीले जनाएको छ । बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभव छ । त्यसअघि उनले बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा १० वर्ष भन्दा बढिको कार्यअनुभव लिएका थिए। बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका छन् । उनी बीमा क्षेत्रमा कुशल व्यवस्थापका रूपमा परिचित छन् ।

जीवन बीमा कम्पनीहरूले ६१ अर्ब ७४ करोडको व्यवसाय गर्दा नेपाल लाइफको १६.७६ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को ५ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ६१ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार १४ वटा जीवन बीमा कम्पनीले मंसिरसम्म ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । मंसिरसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इस्योरेन्सले १६ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, नेशनल लाइफले ७ अर्ब १६ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)ले ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै, सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।